धनगढी,पुस १५ । कञ्चनपुरको बेलौरी र पुनर्वासका कुखुरा उत्पादक किसान आफै सीमा गस्तीमा खटिन थालेका छन्। भारतबाट दैनिक ८ क्वीन्टलभन्दा बढी अबैध कुखुरा आयात हुन थालेपछि सो क्षेत्रका किसान आफै सीमा सुरक्षामा खटिएका हुन्।

कुखुरा उत्पादक किसानले बेलौरी–पुनर्वास संयुक्त कुखुरा संघर्ष समिति नै गठन गरेर नेपाल भारत सीमा क्षेत्रमा अवैध कुखुरा नियन्त्रणमा लिन दैनिक ४० देखि ६० जनाको समुहमा सीमामा गस्ती गर्न सुरु गरेको संघर्ष समितिका संयोजक विक्रम चन्दले जानकारी गराए। बैलौरी र पुनर्वासमा गरेर एक सय ५० कुखुरा उत्पादक किसान भएपनि भारतबाट दैनिक रुपमा आयात हुने अवैध कुखुराका कारण अहिले एक सय किसान मात्र यो व्यवसायीमा सक्रिय रहेको चन्दले बताए।

सेटिङ मिलाएर भारतबाट अवैध कुखुरा आयात बढ्दै गएपछि कुखुरा उत्पादक किसान आफैले राती ८ देखि बिहान ७ बजेसम्म सीमा क्षेत्रमा गस्ती गर्न सुरु गरेको बेलौरी पुनर्वास क्षेत्रका कुखुरा उत्पादक किसानले बताएका हुन्। स्थानीय आफैले सीमा क्षेत्रमा राती गस्ती गर्न सुरु गरेपछि अवैध कुखुरा आयातमा कमी आएको संघर्ष समितिका संयोजक चन्दले बताए। आफुले अवैध रुपमा नियन्त्रणमा लिएका कुखुरा प्रहरीलाई बुझाउने गरेको समेत उनले बताए।