धनगढी, ०९ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका डिल्लीराज पन्तलाई प्रतिद्धन्द्धी एमालेका नारदमुनि रानाले बधाई दिएका छन् ।

मतगणना स्थल प्रदेश स्वास्थ्य तालिम केन्द्र धनगढीमा पन्तलाई बधाई दिदै रानाले पाँच वर्षको कार्यकालमा आफूले थालनी गरेका तर पूर्ण नभएका कामलाई पूर्णता दिनेमा आशावादी रहेको बताए ।

‘माननीय ज्यू तपाईलाई जितको धेरै धेरै बधाई छ साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ रानाले भने, ‘तपाईको कार्यकालमा मैले यो क्षेत्रमा थालनी गरेका कामले पूर्णता पाउनेमा आशावादी छु ।’

रानाले धनगढी दिपायल दु्रत मार्गको बजेट कटौति भएकाले ल्याउन पहल गर्नेमा पनि विश्वस्त रहेको सुनाए भने धनगढीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकसहितका सडकहरुको कामले पनि पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा राना कांग्रेसका पन्तसँग पराजीत भएका हुन् । पन्त २१ हजार ३९२ मत प्राप्त गरेर विजयी हुँदा रानाले २० हजार ३१८ मत पाएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका पन्तलाई सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितका पाँच दलको साथ थियो भने राना एमालेबाट एक्लै प्रतिस्पर्धामा थिए ।