२०७९ असाेज ३१ ।

यतिबेला चर्चा रामजनम चौधरीको छ। राजनीतिमा रामजनम चतुर खेलाडी हुन्। एक समय विजय गच्छेदारको ‘दाहिने हात’ बनेपछि उनको चतुरता झनै बढेर गयो। दम्भको त कुरै नगरौं ।

कैलालीको एक कार्यक्रममा उनले गठबन्धनलाई जिताएमात्रै रेशम चौधरी लगायत टीकापुर राजबन्दीको रिहाइ हुने ठोकुवा गरेका थिए । उनले घुमाउरो भाषामा आफूलाई नजिताए सम्म रेशम चौधरी छुट्दैन भन्ने थियो ।

कैलाली क्षेत्र नं ३ बाट भागेर रेशम चौधरीको क्षेत्रमा आइपुगेका उनले उनै रेशम चौधरीको अवहेलना गरेर आफूलाई जित्ने रणनीति बनाइरहेका छन् र टीकापुर घटनाको सम्बोधन गर्ने नारा लिएर जनता भुल्याइरहेका छन् । तर सामाजिक सञ्जाल हेर्ने हो भने उनको लज्जास्पद पराजय अहिल्यै आँकलन गर्न सकिन्छ ।
रामजनम चौधरीको विगत हेर्ने हो भने कैलालीका थारू समुदायबाट सबैभन्दा धेरैपटक उनी राज्यसत्ताको नजिक रहे । २०४८ सालमै निर्वाचित सांसद बनेका उनी मन्त्री पनि नभएका होइनन् । टीकापुर घटनाको ब्याजका रुपमा उनी मन्त्री भएका थिए । त्यतिमात्र नभइ, सरकारको तर्फबाट टीकापुर घटनासम्बन्धी मुद्दाको छिनोफानो गर्ने कार्यदलको संयोजक पनि बने । तर खै त्यसबेला त रेशम चौधरीलगायत टीकापुर राजबन्दीलाई छुटाउन नसक्ने रामजनमले कांग्रेस भित्रै पनि ‘कमजोर’ भइसकेका उनले रेशम चौधरीलाई छुटाउलान् ?
दसैं अघि मन्त्रि परिषद्ले टीकापुर घटना सम्बन्धी मुद्दालाई कानुन संशोधन गरेर रिहाइ पक्रियामा लैजाने निर्णय गर्यो । त्यसको क्रेडिट खाने पनि यिनै रामजनम हुन् । तर त्यो निर्णय गराउने पहलकदमी रामजनमले होइन, डिल्ली चौधरीले गरेका हुन् । यसले पनि रामजनम पार्टी भित्र कति कमजोर छन् भन्ने ठम्याउन सकिन्छ । नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा कांग्रेस मत लैजाने डरले नै हतार हतार मन्त्रिपरिषदले त्यस्तो निर्णय गरेको थियो ।

अर्को रामजनमलाई सबैले सोध्नैपर्ने प्रश्न चाहिँ उनी टीकापुर घटनामा किन मुछिएनन् ? किन पक्राउ परेनन् ? किन कारागार बस्नु परेन ? उनी विरुद्ध अदालतले किन जन्मकैद सजाय सुनाएन ? २०७२ सालको आन्दोलनमा विभिन्न घटनाहरू बनाइएका थिए। त्यसमध्येको एक थारु सभासद संघर्ष समिति समेत रहेको थियो । जसको अगुवाई राजमनमले नै गरेका थिए । सिंहदरवार र बाहिर गरिएका प्रत्येक बैठकमा रामजनम बराबर सहभागी भएका छन् । आन्दोलनका प्रत्येक रणनीति उनको सहमतिमा बनेको छ । तर त्यही आन्दोलनको उपज टीकपुर घटनामा उनी मुछिएनन् किन ?

हाँसलाग्दो कुरा त, थारुहरुलाई जेलमा कोचेर रामजनमको पार्टी सत्तामा राज गर्न गयो । रामजनमहरु मन्त्री भए । र, फगत कार्यदल बनाएर टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्नुका साटो जिल्ला र उच्च अदालतबाट जन्म कैद सजायको भागिदार बनाइयो । टीकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनुमा रामजनम चौधरी पनि उतिकै भागिदार छन्। सरकारको मन्त्री हुँदा, कार्यदलको संयोजक बन्दा कसले रोकेको थियो ती थारुहरु निर्दोष भनिएका प्रतिवेदनहरु सार्वजनिक गर्न ?

तसर्थ चर्चाकै लागि भाषण गरेका हुन् भने ठीकै हो । किनभने यसपटक थारूहरु डगमगाउनेवाला छैनन् । रेशम चौधरीलाई न्याय दिलाउनका लागि भए पनि नागरिक उन्मुक्ति पार्टीलाई यो निर्वाचनले एउटा शक्तिको रुपमा संसदमा ल्याउने आम थारुहरु कम्मर कसेर लागेका छन् । थारुहरुको त्यो स्पिरिट मंसिर ४ सम्म देखिनु अपरिहार्य छ। साभार : थारुवान डटकम