नरेश राना कञ्चनपुर, २५ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा कञ्चनपुरमा नेकपा एमालेका पुराना नेता कार्यकर्ताले पार्टी छाडने लहरै चलेको छ ।
उनीहरुले आफ्नो भविष्य पार्टीमा नदेखिएको, टिकट वितरणदेखि पार्टीका गतिविधि, विधी, पद्धति, सिद्धान्त र व्यवहारिकता अनुसार नदेखिएको भन्दै पार्टी धमाधम छाडन थालेका हुन ।

एमालेका पुराना नेता खेम सुवेदीले गत आईतवार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीलाई राजिनामा दिए । उनले एमालेमा आफ्नो भविष्य नदेखिएका कारण पार्टी छाडेको बताएका थिए । झण्डै चारदशक एमालेमा रहेर काम गरेका सुवेदी किसान नेता हुन । उनले कञ्चनपुर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छ्न ।

त्यसैगरी नेकपा एमालेको विभिन्न जिम्मेवारीमा रहेर करिब पैतिस वर्षदेखि काम गर्दै आएका भक्तबहादुर अधिकारीले पनि आईतवार नै राजिनामा दिए । उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत राजिनामा दिए । टिकट वितरणमा आफ्नो असन्तुष्टी रहेको बताउँदै नेता अधिकारीले पार्टी छाडेको बताएका छन । नेता अधिकारीले कञ्चनपुर १ (क)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरि नेकपा एमाले प्रदेश सदस्य नीलदेव पोख्रेलले पनी मङ्गलबार पार्टीबाट साधारण सदस्यता समेत नरहने गरि राजीनामा दिएका छन । करिब तीन दशक भन्दा बढी समयदेखि एमालेका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका पोख्रेल कञ्चनपुरका पुराना नेता हुन । उनले टिकट वितरणदेखि पार्टीका गतिविधि, विधी, पद्धति, सिद्धान्त र व्यवहारिकता अनुसार नदेखिएको कारण आफू पार्टीमा रहिरहन असमर्थ रहेको राजिनामा पत्रमा उल्लेख गरेका छ्न ।