नरेश राना/कञ्चनपुर, असोज १० । कञ्चनपुरको लालझाडी गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ ।
डोटीको के.आई.सिहँ गाउँपालिकाबाट सरुवा भई लालझाडी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायलाई हाजिरी गराउन रोक लगाइएको छ ।

पालिकाका अध्यक्ष निर्मल रानाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाज गर्न खटाएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई सो पालिकाले हाजिरी गराउन नकिने जनाएको छ । पालिकाले प्रमुख प्रशासकीय पदमा सरुवा गर्नुपुर्व पालिकाको समन्वयमा र सहमतिमा मात्र सरुवा गर्न हुन मन्त्रालयलाई मौखिक अनुरोध गर्दा पनि मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई खटाउनु गलत भएको अध्यक्ष रानाको दाबी छ ।

यता मन्त्रालयले भने कामकाज गर्न खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय सरकार ऐन,२०७४ को दफा ८४(४) मा भएको व्यवस्था बमोजिम मन्त्रालयबाट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने गरिएकोले सोही बमोजिम खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी नगराई फिर्ता पठाउँदा कर्मचारी व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको जनाएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराई नेपालको संविधान, स्थानीय सरकार ऐन, २०७४ तथा अन्य प्रचलित कानूनले निर्दिष्ट गरेको सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको मर्मलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।
यसरी मन्त्रालयले खटाएको कर्मचारीलाई पालिका अध्यक्षले आफूखुसी हाजिर गराउन नखोजेको भन्दै केही कर्मचारीहरू रुष्ट बनेका छन् । गाउँपालिकाकी उपाध्यक्ष सपना कुमारी राना चौधरीले भने नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न आफू तयार रहेका र काम गर्ने वातावरण गर्नेमा आफू सकारात्मक रहेको बताइन् ।






