नरेश राना/कञ्चनपुर, १७ भदौ । बेलडाँडी वडा नं.२ मा विहिवार करिब राती ९ बजेको समयमा हात्तीको बथानले घर घेरेर भत्काइदिएका दुई परिवारलाई राहत दिएको छ ।
हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको अन्न खाइदिए पछि तत्काल खानको लागि समस्या नहोस् भन्ने उदेश्यले वडा कार्यालयले खाद्यन्य उपलब्ध गराएको वडा नं.२ का सदस्य रमेश चनाराले जानकारी गराउनु भयो ।
उहाँका अनुसार हात्तीले आतंक मचाएको ठाउँको अध्ययन गर्दा अति विपन्न २ परिवार देखिएकाले उनीहरुलाई खान समेत समस्या परेकाले १/१ कट्टा चामल, २/२ केजी दाल, १/१, केजी नुन, १/१ पोका तेल उपलब्ध गराइदिएको जनाए । अन्य बालीनाली नोक्सान भएकाहरुलाई गाउँपालिका देखि सक्दो राहतको व्यवस्थापन गरिने जनाए ।
हात्ती पिडित जयराम ओड र हरिकृष्ण जोशीले राहत बुझदै खुसी व्यक्त गरेका छन् । सिविरमा बस्दै आएका उनीहरुको राज्यले अहिले सम्म व्यवस्था नगरेका कारण उनीहरु अहिले पनि निकुञ्जको किनारमा बस्दै आएका छन् ।







