धनगढी, १८ साउन । थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसंग मनाएका छन् । बालबालिकासहित युवायुवतीले यसरी गुरही पर्व मनाएका हुन । धनगढीको गुरही चौकमा भव्यतापूर्वक गुरही पर्व मनाइएको छ ।
गुरही कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले थारु समुदाय यहाँको आदिवासी जनजाति धर्ती पुत्र रहेको बताउँदै उनीहरुको कला, संस्कृतिको सम्मान गर्नुपर्ने बताए ।
नगरप्रमुख हमालले कार्यपालिकाको बैठकबाट थारु समुदायको भल्मन्सा प्रथाको प्रवद्र्धनकोलागि नीति तथा कार्यक्रम समेतेको पनि जानकारी दिए । उनले थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग न्यूनिकरणको लागि पालिकाले विशेष ध्यान दिने बताए । साथै उनले तुरुन्तै कार्यपालिकाको बैठकबसी यस चोकलाई गुरही चोक बनाउने निर्णय समेत गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले थारु समुदायले मनाउने चाडपर्वको संरक्षण राज्यले गर्नुपर्ने बताए । उनले आफू पनि तराईमै जन्मिएकोले थारु समुदायको हरेक चाडवाड प्रत्यक्षरुपले हेर्न पाएको बताउँदै यी पर्वको संरक्षण गर्न आवश्यक रहेको बताए ।
यस्तै धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले गुरही चोकलाई गुरही चोक नै बनाउने हो । यहाँ थारु समुदायले वर्षैदेखि नै गुरही मनाउदै आईरहेकोले यो चोकको नाममा कसैले विवाद नगरिदिन अनुरोध गरिन् ।
गुरही पर्व हरेक थारु गाउँमा धुमधामसंग मनाइएको छ । गुरही पुर्खौंदेखि मनाइदै आएकोले थारु समुदायको मौलिक पर्व रहेको सखी सञ्जालको भनाई छ । ‘यो हाम्रो मौलिक पर्व हो’, उनले भनिन्,‘गाउँको पश्चिमतिर रहेको चौक वा चउरमा गुरही फालेर पर्व मनाउनु पर्छ भन्ने मान्यता रहि आएको छ ।’
खास गरेर पश्चिमका थारु समुदायले यो पर्वलाई उल्लासपूर्वक मनाउने गरेका छन् । यस समुदायका जानकार व्यक्तिहरुका अनुसार गुरही मुलतः बालबालिका र कृषिसंग जोडिएको पर्व हो । यो पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । यसैगरी, कृषि बालीमा कीराको प्रकोप नहुने जनविश्वास रहेको छ ।







