राज्यमन्त्री रैका द्वारा स्वास्थ्य प्रबर्द्धन तारा बिजेतालाई नगद पच्चीस हजार पुरस्कार प्रदान

२०७९ असार २२, बुधबार ०५:३५
राज्यमन्त्री रैका द्वारा स्वास्थ्य प्रबर्द्धन तारा बिजेतालाई नगद पच्चीस हजार पुरस्कार प्रदान

धनगढी : प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ को उपाधि धनगढी उपमहानगरपालिका-५ कैलालीका स्मृति शाही र मेलौली नगरपालिका-२ बैतडीका प्रकाश बडूले जितेका छन् ।

शाही धनगढीस्थित नाष्ट माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन भने बडू बैतडी दुर्गास्थानस्थित केदारेश्वर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजनामा धनगढीमा मंगलबार सम्पन्न विभिन्न विद्याका स्पर्धामा शाही र बडू उत्कृष्ट हुँदै ‘प्रदेश स्वास्थ्य प्रवर्द्धन तारा’ जितेका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरीबाट १८ जनाको सहभागिता रहेको थियो । उपाधि जितेका दुवैलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका एक समारोहका बीच ट्रफी, सम्मानपत्र र नगद २५/२५ हजारसहित पुरस्कृत गरेका थिए ।

कार्यक्रममा राज्यमन्त्री रैका किशोरावस्थामा सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नुपर्ने बताएका थिए । उनले किशोर/किशोरीको उज्ज्वल भविष्यका लागि सकारात्मक विचार तथा राम्रो संगतमा लाग्नुपर्ने आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सचिव दीपक लामिछाने, जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनार लगायत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा किशोरावस्था समस्या, चुनौती समाधान विषयमा समूह छलफल र प्रस्तुति, स्वास्थ्य जीवनशैली, स्वास्थ्य व्यवहार, स्वास्थ्य विकासका आधार आदि विषयमा वहस, किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तथा राजनीतिक र विकास विषयक प्यानल छलफल, ‘गरौं किशोर/किशोरीको स्वास्थ्यमा लगानी, पाउ स्वास्थ्य जिन्दगानी’ विषयक वक्तित्वकला, किशोर/किशोरी व्यक्तिगत प्रतिभा कार्यक्रम भएको थियो । कार्यक्रम केन्द्रका प्रमुख खड्काको अध्यक्षतामा भएको थियो ।