जेम्स राना/बेलाैरी, जेठ १४ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र बेलौरी नगरपालिका कार्यालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार बेलौरी स्थित महाकाली माविका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले लागु औषध, यसले समाजमा पारेको क्षति, कानुनी प्रावधान, रोकथामका उपाय लगायतका विषयमा प्रशिक्षण दिनु भएको छ । त्यस्तै, धूम्रपान रहित अभियानका अभियन्ता तथा हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले सुर्तीजन्य बस्तुले पार्ने प्रभावका बारेमा विश्लेषण गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह बोहराले पछिल्लो समयमा किशोरावस्था तथा युवावस्थामा रहेका व्यक्तिहरू लागु औषध तथा दुर्व्यसनीबाट बढी प्रभावित भएको अवस्थामा घरपरिवार, समाज तथा विद्यालयहरूले समेत सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले लागु औषधको बढ्दो कारोबारले नयाँ पुस्ता विकृति तर्फ उन्मुख भइरहेकोले सबै पक्षले यसलाई समयमै नियन्त्रण गर्ने कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । यसैबिच बेलौरी नगरपालिकाले आयोजना गरेको नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण कार्यक्रमलाई समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले सम्बोधन गर्नुभएको शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले जानकारी दिनुभयो ।






