धनगढी,३० पुस । बहुउद्देश्यीय विकास समाज(एम.पि.डी.एस.) डडेल्धुराले सुदूरपश्चिमको डडेल्धुरा र कैलालीमा बाढी पिडितका लागि राहत परियोजना शुरु गरेको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका,कैलारी गाउँपालिका ,डडेल्धुराको परशुराम भागेश्वर र आलिताल गरी दुई जिल्लाको ५ वटा स्थानिय तहमा उक्त परियोजना शुरु भएको हो ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराले कैलाली जिल्लाको कैलारी गाउँपालिकामा परियोजना शुभारम्भ कार्यशाला गोष्ठीको आयोजना गरि उक्त कार्यक्रमको वारेमा सरोकारवालाहरुलाई जानकारी गराएको हो ।
के.आई.ए.को आर्थिक सहयोगमा संचालन गरिने उक्त परियोजना मार्फत स्थानिय तहसंगको समन्वयमा बाढी प्रभावितहरुको पहिचान, प्रभावितहरुलाई राहत सामाग्री वितरण तथा कामका लागि नगद लगायतका कार्यक्रमहरु संचालन गरिने बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक प्रेम बहादुर महरले जानकारी गराउनुभयो ।
गोष्ठीमा कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी,उपाध्यक्ष लक्ष्मी सत्गौवा,वडा अध्यक्षहरु लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक प्रेम वहादुर महरले गर्नुभएको थियो ।