धनगढी ,२३ पुस । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य एवं कैलाली इन्चार्ज नारदमुनी रानाले परमादेशबाट बनेको गठबन्ध सरकारको आयु अब धेरै दिन नभएको बताउनु भएको छ।
एमाले कैलालीको आठौं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा आज उहाँले उक्त कुरा ठोकुवा गर्नुभएको हो। इन्चार्ज रानाले जनादेशबाट आएको ओली नेतृत्वको सरकारलाई विभिन्न जालझेलबाट हटाइएकोले यो जालझेल अब धेरै नटिक्ने बताउनु भयो। “सरकार सरकार जस्तो छैन,जनताले जताततै सास्ती बेहोर्नु परेको छ। जनताका सवालमा सरकार कहिँ कतै देखिदैन,अन्तरास्ट्रिय मामिलामा देश चुकेको छ। देशमा परराष्ट्रमन्त्री नै नरहेको भान भएको छ,प्रधानमन्त्रीले कुटनैतिक नियम विपरीत आफ्नी पत्निलाई भारत भ्रमणको तामझाम मिलाउने जिम्मा दिनुभएको छ,के यो काम परराष्ट्रमन्त्रीको हैन र ?”-इन्चार्ज रानाले प्रश्न गर्नुभयो।
इन्चार्ज रानाले वर्तमान सरकार अनि गठबन्धनले देशलाई भड्खालो तिर लग्ने प्रयत्न गरिरहेकोले त्यो आफुहरुले सफल हुन नदिने बताउनु भयो। उहाँले अधिवेशनका सन्दर्भमा सहमतिमै जिल्ला नेतृत्व चयनमा जोड दिनुभएको छ। “धेरै कमरेडहरुको चाहना कहिँ न कहिँ उठ्ने होला तर हामी विधि विधानमा बाधिएका छौ,सोही विधान अनुरुप निश्चित संख्यालाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने हुन्छ,त्यसैले सबैले बुझिदिन अनुरोध पनि गर्दछु र सर्वसम्मत कमिटी चयनमा जिम्मेवार भैदिन आग्रहपनि गर्दछु। “-उहाँले भन्नुभयो।