धनगढी,१४ कातिक । दलित महिला अधिकार मञ्च नेपाल कैलालीको आयोजनामा अइताबार धनगढीमा राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता विषयक् जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा महिलाहरुलाई राजनीतिकलगायत अन्य क्षेत्रमा कसरी अर्थपूर्ण सहभागिता गराउने विषयमा छलफल भएको थियो । कार्यक्रम डिसिएको सहयोगमा महिला सशक्तीकरण परियोजना अन्तर्गत भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य दुर्गा विकले संविधानले महिलालाई समानुपति समावेशी अधिकार दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले महिलाहरुले शसक्तरुपमा लागे राज्यका हरेक क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुने बताउनुभयो । पार्टीमा पुरुषवादी चन्तनका कारणले पनि महिलाहरु अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आएको उहाँको तर्क थियो । त्यसैगरी, प्रदेश सभा सदस्य उमादेवी वादीले हाल महिलाहरु देश चलाउने परिस्थितिमा महिलाका सावलमा संविधानमा लेखिएको कुरा कार्यान्वयनमा नआएको बताउनुभयो ।

प्रदेश सभा सदस्य मालामति राना नेपालको संविधान पूर्ण नरहेकोले यसलाई संसोधनमार्फत पूर्ण बनाउनुपर्ने जोड दिनुभयो । उहाँले संविधानले नीति निर्माण त भयो, तर कार्यान्वयन नभएको बताउनुभयो । यस्तै, प्रदेश सभा सदस्य रेवती मल्लले महिलालाई राजनीतिमा कसरी अर्थपूर्ण सहभागिता गराउने भन्ने विषयमा बहस गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिलाहरु क्रियाशील भएर निर्णनायक स्थानमा पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिमा मात्र नभएर व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट नेतृत्व तहमा पार्टीले महिला सहभागिताको विषयमा बहस गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिलालाई राजनीतिमा अर्थपूर्ण सहभागितालाई महिलाको बहस नबनाई पार्टीको बहसको रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले राजनीति नीतिभित्रको सबभन्दा ठूलो नीति भएकोले राजनीतिमा महिला सहभागिता महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कैलाली उपसभापति प्रकाश बमले नेपाली काँग्रेस पार्टीमा महिला सहभागिता गराउन प्रतिवद्ध रहेको बताउनुभयो ।

महिलाहरुको क्षमता अभिबृद्धिसँगैं सशक्तिकरणमा सहयोगका लागि नेपाली काँग्रेस लागि परेको बताउनुभयो । उहाँ आँट भएका महिला अगाडि आउनुस्, हामी तपाई अवसर दिन प्रतिवद्ध छौं भन्नुभयो । नेकपा एमालेका रणबहादुर चन्दले महिलाको राजनीतिमा अर्थपूर्ण सहभागिताका लागि निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, माओवादी केन्द्रका रमेश धामीले महिला सहभागिताका लागि कुनै पनि पार्टी आग्रह पुर्वाग्रह नभइ लाग्नुपर्ने बताउनुभयो । उहाँले पारिवारिक समस्या, सामाजिक चेतका कारणले पनि महिला राजनीतिमा सहभागी हुन नसकेकोले महिलालाई अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा निर्वाचन आयोज कैलाली प्रमुख प्रेमराज पन्तले निर्वाचनमा लैंगिक तथा समावेशीकरणबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ वडा सदस्य राधा विक, वडा नम्बर १ वडा सदस्य भीम जैरु, महिला अधिकारकर्मी गोमा आचार्य, फाया नेपालका धनपति ढुंगेल, जानकी रावत गिरी, शारदा रोकाया, अमृता विक, तारादेवी तामाङ, पुष्पा भट्ट, शारदा सुनार, माया ताम्राकार, चन्द्रकला राना, सुनिता सोपलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक पराजुलीले स्वागत गरेको कार्यक्रम डीडब्ल्युआरएफका अध्यक्ष सावित्रा घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन राजेन्द्र रैकाले गर्नुभएको थियोे ।