धनगढी,३ कातिक । दलित महिला अधिकार मंच नेपालले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

मंचकी अध्यक्ष एंव गैरसरकारी संस्था महासंघकी केन्द्रीय सदस्य सावित्रा घिमिरेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भीमबहादुरको हत्याराहरु माथि कडाभन्दा कडा कारबाही गर्न र उनका परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुभएको छ । भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुरको २८ असोजमा स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो ।

स्थानीयवासीले जातीय विभेदको सोचकै कारण भीमबहादुरको हत्या गरेको ठहर मंचको छ । ‘दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने माग गर्दा सामन्य विवादमा कुटपिट गरी जघन्य हत्या गरेको घटना प्रति दलित महिला अधिकार मंच नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,यो अमानवीय पासविक घटनाको घोर भर्त्सना गर्दछौ ,’ मंचका अध्यक्ष घिमिरेले विज्ञप्ति मार्फत् भनेका छन्,

‘दलितले पनि मन्दिरमा पूजा गर्न पाउनुपर्ने कुरा उठाएकै भरमा कुटीकुटी हत्या गर्ने अमानवीय प्रवृतिको निन्दा गर्दछौ।’ स्थानियको कुटाइबाट सख्त घाइते भएका विश्वकर्मालाई बेहोस अवस्थामै उपचारका लागि अस्पताल लैजाने क्रममा चिकित्सकले विश्वकर्माको मृत्यु भएको घोषणा गरेका थिए ।