काठमाडौं, हिजो नेपाल रानाथारु युवा समाज, काठमाडौंको आयोजनामा “शुभकामना आदानप्रदान तथा झुड्की छिरान कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। तीज पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा रानाथारु समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानको गौरवपूर्ण झल्को प्रस्तुत गरिएको थियो।
कार्यक्रमको संचालन संस्थाका महासचिव अनिल रानाले गरेका थिए भने सभापतित्व नेपाल रानाथारु युवा समाजका अध्यक्ष कमल रानाले गर्नुभएको थियो। हिजो नेपाल रानाथारु युवा समाज, काठमाडौंको आयोजनामा “शुभकामना आदानप्रदान तथा झुड्की छिरान कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ। तीज पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा रानाथारु समुदायको मौलिक परम्परा र सांस्कृतिक पहिचानको गौरवपूर्ण झल्को प्रस्तुत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य कौसिला रिसाल रहनु भएको थियो। विशिष्ट अतिथिको रूपमा नेपाल रानाथारु समाज तथा भूमि आयोग कैलालीका विज्ञ सदस्य कमल सिंह रानाको उपस्थिति रहेको थियो। अन्य अतिथिहरूमा नेपाल रानाथारु समाजका पूर्व महासचिव तथा शिक्षक राजकुमार राना, अनेरास्ववियुकी केन्द्रिय उपाध्यक्ष अञ्चना शिवाकोटी, मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजु पुन मगर, र नागार्जुन कलेज (NCIT) का निर्देशक जे मंगल गुप्ताको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य नेपाल रानाथारु युवा समाजकी केन्द्रिय सदस्य बसन्ती रानाले दिएकी थिइन्।
दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो सेसनमा शुभकामना आदानप्रदान गरिएको थियो भने दोस्रो सेसनमा रानाथारु समुदायको परम्परागत र सांस्कृतिक महत्व बोकेको झुड्की छिरान अनुष्ठान सम्पन्न गरिएको थियो। महिलाहरूले कुश घाँसको प्रयोग गरी झुड्की बनाउने र तीजको विशेष पूजा गर्ने परम्परालाई राजधानीमै पुनःसृजना गरेर समुदायलाई एकताबद्ध गराउने प्रयास गरिएको थियो।
कार्यक्रममा रानाथारु समुदायका चर्चित कलाकारहरू रिना राना, सुदिप बडायक, र जेस्मिन रानाले सांगीतिक प्रस्तुति दिएर माहोललाई झनै जीवन्त बनाएका थिए। कार्यक्रमको समाचार संकलन र प्रकाशनका लागि विभिन्न सञ्चारमाध्यमहरू जस्तै नेपाल न्यूज बैंक (कृति पन्त), नेपाली कल्चर मिडिया (एम.बी. मगर, बिनिता मगर), इन्डिजिनियस टेलिभिजन (अनिस खड्गी), रानाथारु डट कम (अर्जुन राना), र अर्थ सरोकार सम्पादक (सुदर्शन श्रेष्ठ) को उपस्थिति रहेको थियो।
रानाथारु समुदायमा तीज विशेष महत्व बोकेको सांस्कृतिक पर्व हो। यो पर्व साउन महिनाको शुक्ल पक्षको तृतीयामा मनाइन्छ। रानाथारु महिलाहरू तीजको समयमा माइतीघर वा आफन्तकोमा गएर करिब १५ दिनसम्म बस्दछन्। सो अवधिमा पिङ्ग खेल्ने, पारम्परिक गीत गाउने र झुड्की छिरान गर्ने परम्परा छ।
झुड्की छिरान भनेको कुश घाँसको सात (विवाहित) वा पाँच (अविवाहित) गाँठो बाँधेर बनाइने पूजनीय डोरो हो, जसलाई नदी किनारमा पूजा गरी आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायु, सुख र समृद्धिको कामना गरिन्छ। यो परम्परा बेहमैया देवी सँग सम्बन्धित छ, जसले आफ्नो भाइहरूलाई संकटबाट बचाएको जनविश्वास छ।
रानाथारु समुदायमा तीज पतिको लागि नभई दाजुभाइ र भतिजाको कल्याणको निम्ति मनाइने एक अनुपम सांस्कृतिक पर्व हो, जसले पारिवारिक प्रेम, एकता र नारीको धार्मिक आस्था प्रकट गर्दछ।