काठमडाै । नेपाल बालसाहित्य समाजले बालसाहित्य लेखन र चित्राङ्कनतर्फको सर्वोत्कृष्ट कृति घोषणा गरेको छ ।

सर्वोत्कृष्ट कृति मूल्याङ्कन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले अनुमोदन गरेपछि सो घोषणा गरिएको हो । घोषणाअनुसार २०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नानी र चरी (बालकाव्य/कवि मित्रलाल पंज्ञानी) र ८ वर्ष माथिका लागि आमा (बालउपन्यास/उपन्यासकार हरि खनाल) ले प्राप्त गरेको छ। यसैगरी २०७९ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा/इन्द्र चौधरी) र ८ वर्ष माथिका लागि साङ्केनको खुल्दुली (चित्रकथा/सिर्जना राई) ले प्राप्त गरेको छ ।

समाजका अनुसार चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार २०७८ का लागि बाघसँग जम्काभेट (चित्रपुस्तक/कलाकार कलाग्रज बि.) र २०७९ का लागि य:मरी (चित्रपुस्तक/कृषा ताम्राकार) लाई प्रदान गरिने घोषणा गरिएको छ । यी सबै पुरस्कार प्रदान गरिने कार्यक्रम पछि घोषणा गरिने बताइएको छ ।