नरेश राना/कञ्चनपुर, फागुन २१ ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा आगामी फागुन ३० र चैत १ गते दुई दिने खखडेहरा महाेत्सव सञ्चालन हुने भएको छ ।
“खराब संगत बन्त कैसे जो से विगडत बच्चा !, कुप्रथामे खुसियाली मनायहएँ त कैसे हुइहाए शिक्षा” मूल नाराका साथ राना थारु समुदायकाे चाड खखडेहरा पर्वकाे उपलक्ष्यमा खखडेहरा महाेत्सव लाग्ने भएकाे हो । होली पर्वको लगत्तै आउने खखडेहरा पर्वलाई राना थारु समुदायले निकै महत्त्वका साथ मनाउने गर्दछन ।
राना कला संस्कृति संरक्षण तथा विकास मञ्चकाे आयाेजना र लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा सो महोत्सव हुन लागेको हो । आईतवार लालझाडी गाउँपालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै मञ्चले कार्यक्रम बारे जानकारी दिएकाे हाे ।
पत्रकार सम्मेलनमा लालझाडी गाउँपालिका ३ नन्द गाउँकाे खेल मैदानमा महाेत्सव हुने र महोत्सवको मुख्य उद्देश्य राना थारु कला संस्कृतिकाे संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।
महोत्सवमा रानाथारु साँस्कृतिक झाँकि प्रदर्शन, स्थानिय कलाकारकाे नृत्य तथा गायन प्रस्तुति , जनचेतनामूलक नाटक , रानाथारु समुदायको खानाको परिकार आदिकाे प्रदर्शनी रहने राना कला संस्कृति संरक्षण तथा विकास मञ्च कञ्चनपुर अध्यक्ष अमर रानाले बताउनुभयो ।
यस वर्ष रानाथारु समुदायले फागुन ३० र चैत १ गते खखडेहरा पर्व मनाउदैछन ।






