धनगढी, २६ बैशाख । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा पनि चुनावी सरगर्मी तीव्र छ । यहाँ नगर प्रमुखमा नेकपा एमाले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
प्रमुख पदमा एमालेबाट रणबहादुर चन्द, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र स्वतन्त्रबाट गोपाल हमाल चुनावी मैदानमा छन् । उनीहरू तीनैजनाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन् ।
एमालेबाट रणबहादुर चन्दले भने चुनावको प्रचार अभियान उत्साहजनक ढंगमा अगाडि बढिरहेको छ । आम मतदाताहरूले पनि हामीलाई निकै उत्साह दिइरहनु भएको छन। मैले विशेषगरी धनगढी उपमहानगरपालिकालाई व्यवस्थित नगरपालिकाको रूपमा अगाडि बढाउने मेरो मुख्य लक्ष्य छ । यहाँ थुप्रै समस्याहरू छन् । क्रमिकरूपले सबै समस्याको हल गर्ने मेरो चाहना छ ।
धनगढी उपमहानगरपालिका भए पनि केही वडाहरू विकासका दृष्टिले धेरै पछाडि छन् । त्यसलाई कसरी मूलधारमा ल्याउने, त्यहाँ कसरी विकास पुर्याउने भन्ने मेरो चिन्ता र चासो छ ।
यसअघि यो स्थानीय तहमा हामीले जित्न सकेनौँ, त्यसैले धेरै काम राम्रो हुन सकेन । यहाँका नागरिकले मत दिएर जिताएका जनप्रतिनिधीहरुले किन त्यो एजेन्डा पूरा गर्न सकेनन्, त्यो उहाँहरूलाई नै प्रश्न गर्नुहोला । तपाईले भनेजस्तै हामीले यसपटक निर्वाचन जित्यौं भने अर्काे पटक यी एजेन्डाहरू उठाउनु पर्ने छैन । हामी सबै पूरा गर्नेछौं । पाँच वर्षमै सुन्दर र समृद्ध धनगढी बनाउने छौँ ।
यहाँका सडक साँघुरा छन् । धनगढीको वरिपरि रिङ रोडसँगै बीचमा लिंक रोड बनाएर हामी व्यवस्थापन गर्ने योजनामा छौं । मेघासिटी बनाएर महानगरपालिका बनाउनु पर्छ भन्ने ढंगले हामी अगाडि बढेका छौँ बताए मेयरका प्रत्यसी चन्द।
धनगढी उपमहानगर पालिकामा एमालेकाे तर्फबाट मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला राना हुन ।