नरेश राना / कञ्चनपुर
कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा स्वतन्त्र युवाले गाउँपालिका अध्यक्षसमक्ष चारबुँदे माग अघि सारेका छन्। आज शुक्रबार स्वतन्त्र युवा लालझाडीका संयोजक नारायण रानाको नेतृत्वमा गाउँपालिका अध्यक्ष निर्मल रानालाई योजना मागपत्र बुझाइएको हो।
मागपत्रमा लालझाडी गाउँपालिका वडा नम्बर ४ र ५ मा छाडा गाईगोरुका कारण उखु, गहुँ, तोरी लगायतका बालीहरू व्यापक रूपमा नष्ट भइसकेको उल्लेख गर्दै त्यसको तत्काल रोकथाम गर्न मेसवार जाली तुरुन्त उपलब्ध गराउन माग गरिएको छ। यदि भोलिसम्म जाली उपलब्ध नगराइए आइतबार गाउँपालिका कार्यालयमा ताला बन्दी गर्ने चेतावनी समेत दिइएको स्वतन्त्र युवा संयोजक नारायण रानाले जानकारी दिनुभयो।
यस विषयमा गाउँपालिका अध्यक्ष निर्मल रानाले टेण्डर प्रक्रिया सम्पन्न भइसकेको बताउँदै शनिबारसम्म मेसवार जाली उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ।
त्यसैगरी मागपत्रको दोस्रो बुँदामा डाँगा जाईदेखि भुली दोदा नदीसम्म पक्की पुल जोड्ने सडक निर्माणका लागि तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ। उक्त सडक क्षेत्रका स्थानीयहरू वर्षायाममा विशेष गरी आवतजावतमा ठूलो समस्या भोग्दै आएका छन्।
तेस्रो बुँदामा दोदा पुलदेखि ईटहा मेला लाग्ने स्थानसम्मको अत्यन्तै जीर्ण अवस्थामा रहेको खाल्डाखुल्डी बाटोलाई तुरुन्त मर्मत गर्नुपर्ने माग अघि सारिएको छ। साथै चौथो बुँदामा ईटहा मेलाको समयमा खानेपानीको अभाव हुने गरेको भन्दै मेलास्थलमा बोरिङको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले दोदा पुलदेखि ईटहा मेला क्षेत्रसम्मको सडक तत्काल मर्मत गर्ने र ईटहा मेलामा बोरिङको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको स्वतन्त्र युवा संयोजक नारायण रानाले जानकारी दिनुभयो।
स्वतन्त्र युवाले स्थानीय जनताको समस्या समाधानमा चासो नदेखिए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।






