पोखरी कटेजमा आज बृहत् साँस्कृतिक साँझ : आन्तरिक पर्यटन र कला–संस्कृतिको प्रवर्द्धनमा जोड

November 5, 2025
पोखरी कटेजमा आज बृहत् साँस्कृतिक साँझ : आन्तरिक पर्यटन र कला–संस्कृतिको प्रवर्द्धनमा जोड


कञ्चनपुरको चर्चित आन्तरिक पर्यटकीय गन्तव्य पोखरी कटेज, बेदकोट नगरपालिका–७ सुडामा आज (बुधबार) दिउँसोदेखि रातिसम्म बृहत् साँस्कृतिक साँझ कार्यक्रम हुने भएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धन, कला संस्कृतिको सम्वर्द्धन’ भन्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको संयोजन राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशले गरेको हो भने कार्यक्रम संघकै केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज ऐन बहादुर दौल्यालको प्रायोजनमा आयोजना गरिएको हो।

राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निल गगन रोशन सिहका अनुसार यो पहिलो पटक पोखरी कटेजमा यति ठूलो सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो। उनले भने, “पोखरी कटेज सुदूरपश्चिमको आकर्षक आन्तरिक पर्यटकीय गन्तव्य हो। यस कार्यक्रमले यहाँको पर्यटन र स्थानीय कलाकार दुबैलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।”

कार्यक्रमका सहव्यवस्थापक करन पालले बुधबार दिउँसो २ बजेदेखि नै कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन्। कार्यक्रममा चर्चित गायक तथा मोडल टेक बिसी सहित सुदूरपश्चिमका अन्य प्रतिभाशाली कलाकारहरूले विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्।

कार्यक्रममा स्थानीय कलाकारहरूलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। “स्थानीय कलाकारका सीप र प्रतिभालाई देशभर चिनाउने उद्देश्यले उनीहरूकै प्रस्तुति केन्द्रमा राखिएको छ,” अध्यक्ष सिहले भने।

एक दिने यस बृहत् साँस्कृतिक साँझमा व्यापक दर्शक सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक समितिले सुदूरपश्चिमका संगीतप्रेमी, पर्यटक तथा स्थानीयवासीहरूलाई कार्यक्रममा उपस्थित रहन आग्रह गरेको छ।

आयोजकको भनाइअनुसार, कार्यक्रमबाट संकलन भएको रकम सामाजिक क्षेत्रका विभिन्न योजनामा विनियोजन गरिनेछ।

पोखरी कटेज विगत केही वर्षयता आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले उक्त स्थानको पहिचानलाई अझ मजबुत पार्ने र स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio