कञ्चनपुर। बेदकोट नगरपालिका–७ सुडामा अवस्थित ‘पोखरी कटेज’ सुदूरपश्चिमका मानिसहरूको लागि नयाँ पर्यटन गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्य र आधुनिक मनोरञ्जनका साथै अर्गानिक परिकारका लागि यो स्थल लोकप्रिय बनेको हो ।

करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको यस कटेजमा रेस्टुरेन्ट, स्वीमिङ पूल, फिस म्युजियम, फिस थेरापी (डक्टर फिस) लगायतका सुविधा उपलब्ध छन् । स्थानीय सञ्चालक कृष्ण रानाका अनुसार, यो कटेजले हाल २० महिलासहित ४८ जना स्थानीयलाई रोजगारी दिएको छ ।

यहाँको रमणीय पोखरी दृश्य, ताजा माछाका परिकार र फिस थेरापी विशेष आकर्षक रहेका छन् । दैनिक रूपमा भारतसहित बुटवल, डोटी, बैतडी, बाजुरा र कैलालीका पर्यटकहरू भ्रमणमा आउने गरेका छन् ।

वातावरणमैत्री र आत्मनिर्भर पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको पोखरी कटेजमा आगामी मंसिरदेखि ४०० जनासम्म अटाउने क्षमताको पार्टी प्यालेस पनि सञ्चालनमा आउने तयारी छ । यहाँ प्रवेशका लागि रु. ५० को कुपन लिनुपर्ने र सो रकम खाजा वा नास्ताको बिलबाट घटाइने व्यवस्था गरिएको छ ।