काठमाडौं । किष्ट मेडिकल कलेज र मृतक मिना राईका आफन्तबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राति ११ बजे दुवै पक्षबीच सहमति भएको अस्प्तालका प्रशासक अमिष पाठकले बताए ।
शिशुको नहुर्किदासम्म उसको उपचार अस्पतालले बेहोर्ने गरी सहमति भएको छ। वार्तामा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिलगायत सहभागी थिए ।
आफन्तहरुले आर्थिक क्षतिपूर्ति र मृतकका दुई बच्चाको पढाइ खर्चसमेत माग गरे पनि अस्पतालले मानेन । अन्तिममा हाल अस्पतालमा रहेको शिशुको १२ वर्ष हुँदासम्म उपचार गर्ने गरी सहमति भएको अस्पतालले जनाएको छ ।
सहमतिपछि मृतकका आफन्तले आन्दोलन फिर्ता लिएको र आज मृतकको शव जिम्मा लगाइने छ । नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएकोले केही दिन अस्पतालमै राखिने छ । गत शुक्रबार सुत्केरी मिना राईको मृत्यु भएको थियो । उनको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
सुत्केरीको ज्यान गएपछि आइतबार र सोमबार मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलन र तोडफोडसमेत गरेका थिए ।






