कैलाली– कञ्चनपुरका आरक्षपीडित जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका छन् । बुधबारदेखि कृष्णपुर नगरपालिका– १ को जयशंकर सामुदायिक वन कब्जा गरेर बसेका पीडितलाई स्थानीय प्रशासनसहित सुरक्षा निकायले हटाएपछि उनीहरू सोमबार प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका हुन् ।

सरकारले पुनस्र्थापना गर्न नसक्दा खाली जमिन भएको ठाउँमा बस्दा प्रहरी प्रशासन लगाएर उठाउने गरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरू त्रिपाल टाँगेर ससाना सन्तानसँगै बन्दोबस्तसहित प्रशासन कार्यालयअगाडि धर्नामा बसेका छन् । सोमबार छठको सार्वजनिक बिदा भएकाले आरक्षपीडित र स्थानीय प्रशासनबिच वार्ता हुन सकेन ।

आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले विस्थापितको पुनस्र्थापना गर्न नसक्ने सरकारले फेरि पीडितमाथि अन्याय गरेकाले प्रशासनमा धर्ना दिएको बताए । ‘हामी वनको जमिनमा बसेका थियौं, तर प्रहरी लगाएर उठाइयो । त्यही भएर न्यायका लागि धर्ना दिएका छौँ,’ उनले भने, ‘हाम्रो समस्या समाधान गर्न सरकारले नै चाहेको छैन ।’ अढाई दशकअघि विस्थापित पीडितहरूले कृष्णपुर नगरपालिका– १ पहरियास्थित जयशंकर सामुदायिक वनको जमिन कब्जा गरेका थिए ।

संघर्ष समितिका सहसचिव भट्टले २४ वर्षदेखि सरकारले पुनस्र्थापना गर्ने आश्वासन दिएर झुलाएपछि आफूहरूले बाध्य भएर कुकाठवाला वनको जमिन कब्जा गरेर बसेको बताए । उनीहरूले गत २२ साउनदेखि महेन्द्रनगर, वाणी, ढक्कामा धर्ना दिएका थिए । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनस्र्थापनाका लागि जिल्लादेखि केन्द्रसम्म सघर्ष गर्दा पनि आफूहरूको न्यायका लागि कसैले चासो नदेखाएपछि बाध्य भएर जहाँ खाली छ, त्यहीँ बसेको, तर प्रहरी प्रशासनबाट अन्याय भएको दु:खेसो पोखे । संविधानमा हरेक नागरिकलाई भूमि तथा बसोवासको अधिकार भए पनि तत्कालीन सरकारले आफूहरूको उठिवास लगाएकाले अहिले आफ्नो अधिकारका लागि आफैँ लडेको उनीहरूको भनाइ छ । ०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापितहरूको हालसम्म पुनस्र्थापना हुन सकेको छैन ।