कैलालीका किसानले पाएनन् धानको मूल्य, सरकारले तोकेभन्दा एक हजार कममा बिक्री गर्न बाध्य

२ कार्तिक २०८२, आईतवार
कैलालीका किसानले पाएनन् धानको मूल्य, सरकारले तोकेभन्दा एक हजार कममा बिक्री गर्न बाध्य

धनगढीः  सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ। आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो। सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४६३ र मध्यम धानको ३ हजार ६२८ तोकेको हो।

धानको न्यूनतम समर्थन मूल्य नतोकिँद किसान मर्कामा पर्दै आएका थिए । सरकारले २०८१ को असारमा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको थियो।

जिल्ला प्रशासन कार्यालय कैलालीले असोज ३१ गते सार्वजनिक सूचना निकालेर सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा धान खरिदबिक्री गर्न किसान तथा उद्योगीहरूलाई आग्रह गरिएको छ। यस्तै सरकारले गरेको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई अनुरोध गरिएको छ। यो वर्ष सरकारले २०८२ साउन २६ गते धानको न्यूनतम समर्थन मूल्य तोकेको हो। तर कैलालीका किसानले भने सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाएका छैनन्। धान खरिद गर्ने उद्योगी/ व्यापारीबाट किसानले सरकारले तोकेको मूल्य नपाएका हुन्।

विज्ञापन

कैलालीमा धान भित्र्याउने क्रम जारी छ। केही किसानले भित्र्याएको धान बिक्री गर्न थालेको बताएका छन्। तर कैलालीका गल्ला व्यापारीले सरकारले निर्धारण गरेको मूल्य भन्दा सस्तोमा धान खरिद गरिरहेको किसानहरूले गुनासो गरेका छन्।


समर्थन मूल्यभन्दा एक हजार कममा बिक्री गर्न बाध्य
सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४६३ तोके पनि गल्ला व्यापारीले भने किसानलाई प्रति क्विन्टल दुई हजार चार सय मात्रै दिइरहेका छन्। यस्तै, मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ६२८ तोकेकोमा कैलालीका किसानबाट व्यापारीले दुई हजार ६ सय प्रति क्विन्टलका दरले खरिद गरिरहेको किसानहरूले बताएका छन्। कैलालीको जोशीपुरका किसान ठगुप्रसाद चौधरीले स्थानीय धान व्यापारीले दुई हजार चार सय र दुई हजार ६ सयका दरले धान खरिद गरिरहेको बताए। किसानले सबै धान भित्र्याउन अझै बाँकी रहेको बताउँदै चौधरीले यो वर्ष पनि सरकारले तोकेको मूल्य नपाउने समस्या कायमै रहेको बताएका छन्।

कैलालीको गौरीगङ्गा-६ का किसान मोहन चौधरीले धानको समर्थन मूल्य तोकिएको बारे जानकारी नै नभएको बताएका छन्। उनले काटामा भने दुई हजार चार सय देखि दुई हजार ६ सयसम्ममा खरिदबिक्री भइरहेको बताएका छन्।
धनगढी-१३ झलारी गाउँका भुमे महरा दुई बिघा जग्गामा खानखेती गर्दै आएकोमा यो वर्षदेखि जग्गा अधियाँमा दिएका छन्। उनले धानखेतीबाट लागत उठाउनै समस्या भएपछि जग्गा बटैयामा दिएको बताए। अहिले किराना पसल चलाइरहेका महराले सरकारले तोकेको मूल्य किसानले नापाउने समस्या रहेकाले खेती गर्न छोडेको बताए।

धनगढी-१४ फूलवारीका मदनराज जोशीले दुई बिघा जग्गामा धान खेती गरेका छन्। उनले पनि धानको समर्थन मूल्य जति तोहिए पनि किसानले सो मूल्य नपाउने समस्या रहेको बताए। ‘हरेक वर्ष किसानले धान र गहुँको मूल्य नाउने अवस्था छ। व्यापारीले तोकेको मूल्यमा किसानले बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो वर्ष जेन्जीको आन्दोलन पश्चात बनेको सरकारले किसानलाई सहयोग गर्ला कि भन्ने लागेको थियो। अहिले पनि एक हजार ६३ रुपैयाँ कम मूल्यमा बिक्री गर्नु परेको छ। फूलवारी क्षेत्रका धान खरिद गर्ने व्यापारीले सरकारले तोकेको भन्दा एक हजार रुपैयाँ कममा धान खरिद गरिरहेका छन्। यस्तै, फूलवारीकै अर्का किसान नरेन्द्र साउँदले पनि धानको न्यूनतम समर्थन मूल्य नपाउने समस्या यथावत रहेको बताए। 

Wedding Story advertisement Of Jems Movies & Photo Studio