लालझाडी – कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा हात्तीको झुण्डले किसानहरूको खेतबालीमा ठूलो क्षति पुर्याएको छ। विशेष गरी धान र उखु खेतीमा निर्भर स्थानीय किसानहरू अहिले चिन्तित र त्रसित छन्।
गए राति मात्रै लालझाडी गाउँपालिका–६ चान्देबस्थित भुरकुन्डी क्षेत्रमा हात्तीको झुण्ड पसेर किसानका उखु बाली, पानी तान्ने इन्जिन तथा घरसमेतमा क्षति पुर्याएको छ। स्थानीयका अनुसार हात्तीहरू बिहान करिब ४ देखि ५ बजेको बीचमा गाउँमा पसेका थिए।
“बर्सेनि यस्तै हुन्छ, यो पटक त झन् धेरै नोक्सानी भयो,” स्थानीय एक किसानले भने, “सरकार चुपचाप छ, हामी आफैंले जोगिनु परेको छ। हात्ती भगाउन प्रयोग हुने ट्र्याक्टर चलाउन डिजेलसम्म पाइँदैन।”
पीडित किसानहरू भन्छन्, खेतबाली नै उनीहरूको मुख्य सम्पत्ति हो तर त्यसलाई जोगाउन राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो छ। कतिपय ठाउँमा त रातको समयमा बत्तीको समेत व्यवस्था छैन जसले गर्दा हात्ती भगाउन झन् गाह्रो भइरहेको उनीहरूको भनाइ छ।
लालझाडी र बेलौरी क्षेत्र हात्तीहरूको प्राकृतिक आवागमन मार्गमा पर्छ। चुरे र बन क्षेत्रको संरक्षणसँगै हात्ती–मानव द्वन्द्व न्यूनीकरणको प्रयासमा सरकारले योजना ल्याउने भनिए पनि, यथार्थमा स्थानीय स्तरमा कार्यान्वयन शून्य जस्तै देखिएको छ।
स्थानीयले जंगलको बाटो भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हात्तीको झुण्ड अझै वरपरको क्षेत्रमा देखिएको हुँदा सतर्क रहन सुरक्षा निकाय तथा वन कार्यालयले पनि सुझाव दिएका छन्।