जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा पूर्ण रूपमा सञ्चालन

३० आश्विन २०८२, बिहीबार
जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा पूर्ण रूपमा सञ्चालन

‎धनगढी । जिल्ला प्रशासन कार्यालय, कैलालीको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ। जेन–जी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरिएको जिल्ला प्रशासनको सेवा एक महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

‎जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले नागरिकता, राष्ट्रिय परिचय पत्र, राहदानी, मुद्दा दर्ता तथा फैसला कार्यान्वयन लगायतका सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आएका बताए।

‎उनले भने, ‘राहदानीको सेवा पनि सुचारु भएको छ। राष्ट्रिय परिचय पत्र र नागरिकताको सेवा पहिलैबाट सुरु गरेका थियौ। निर्वाचन आयोगले पठायो भने, मतदाता नामावली दर्ताको काम पनि गर्न सक्छौ।’

‎जिल्ला प्रशासन कार्यालय, कैलाली तोडफोड र आगजनीको एक महिना पछि पहिलैको अवस्थामा फर्किएको हो। जिल्ला प्रशासन कार्यालयले नागरिकता सम्बन्धी सेवा भने जेनजी आन्दोलनको केही दिनपछि नै वैकल्पिक व्यवस्था गरेर सञ्चालन गरेको थियोे।

‎आन्दोलनका क्रममा आगजनी गरिएपछि जिल्ला प्रशासन कार्यालयका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। जिल्ला प्रशासन कार्यालय, कैलालीको राणाकालीक भवन आगजनीबाट ध्वस्त भएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio