लालझाडीमा वडा स्तरीय दशैं मिलन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
नरेश राना / लालझाडी, कञ्चनपुर
लालझाडी गाउँपालिका–१ मा वडा स्तरीय दशैं मिलन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमले स्थानिय कला, संस्कृति र समुदायबीचको आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।


कार्यक्रमको सभाध्यक्षता पालिका स्तरीय भलमन्सा समिति संयोजक अतिराम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा नं १ का अध्यक्ष प्यारे लाल राना रहनुभएको थियो। विशिष्ट अतिथिको रूपमा वडा सदस्य राजकुमार चौधरी र वासमती राना तथा विभिन्न सामुदायिक वनका अध्यक्षहरू, भलमन्सा लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा विशेष रूपमा राना र चौधरी समुदायको मौलिक सांस्कृतिक झल्को दिने नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। राष्ट्रिय स्तरका चर्चित कलाकारहरू लेहंगा चौधरी र वीर चौधरीको बेजोड प्रस्तुति कार्यक्रममा मुख्य आकर्षण बनेको थियो। दर्शकहरूले कलाकारहरूको प्रस्तुतीलाई अत्यन्त मन पराएका थिए।

कार्यक्रमको सञ्चालन श्रीश रानाले गर्नुभएको थियो। सहभागीहरूको उत्साहजनक सहभागिता र प्रस्तुतीहरूले कार्यक्रमलाई अत्यन्तै जीवन्त बनाएको थियो।
स्थानीय तहमा यस्ता कार्यक्रमले सामाजिक एकता र सांस्कृतिक पहिचानको संरक्षणमा टेवा पुर्याउने प्रमुख अतिथि ले बताएका छन्।