लालझाडी, कञ्चनपुर।कञ्चनपुरको पर्यटकीय क्षेत्र शोभातालमा यस वर्षको दशैंलाई लक्षित गरी विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। “शिक्षा, स्वास्थ्य, सञ्चार, विकासकै अभियान; कृषि, साँस्कृतिक, पर्यटन हमार पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘१२ औं दशैं विशेष साँस्कृतिक कार्यक्रम’ मा चर्चित राष्ट्रिय कलाकार तथा गायिका समीक्षा चौधरीको विशेष प्रस्तुति रहने भएको हो।
शोभाताल संरक्षण समूह, बेलौरी-५ को आयोजनामा हुन लागेको उक्त कार्यक्रम आगामी असोज १५ गते शोभाताल परिसरमा भव्यताका साथ आयोजना गरिनेछ। कार्यक्रमको प्रवर्द्धकको रूपमा बेलौरी नगरपालिका रहेको छ भने मुख्य प्रायोजकमा बेलौरी नगरपालिका वडा नं. ५ को कार्यालय र सह-प्रायोजकमा शोभाताल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रहेका छन्।
दशैंको अवसर पारेर आयोजना गरिने यस कार्यक्रमले स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। कार्यक्रमले शोभाताल क्षेत्रको पर्यटकीय पहिचानलाई थप फराकिलो बनाउनुका साथै स्थानीय तथा बाह्य दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय स्तरमा ख्याति कमाएकी लोकप्रिय गायिका चौधरीको उपस्थितिले कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहने अनुमान गरिएको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न स्थानीय तथा राष्ट्रिय मिडियाहरूले मिडिया पार्टनरको रूपमा साथ दिएका छन्।