चान्देवको जंगलमा हात्तीको बथान; जंगलको बाटोमा एक जना घाइते

२८ भाद्र २०८२, शनिबार
चान्देवको जंगलमा हात्तीको बथान; जंगलको बाटोमा एक जना घाइते

नरेश राना,कञ्चनपुर, २८ भदौ

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव र बेलौरी नगरपालिका वडा नम्बर ९ अण्डैया टोल जोड्ने झरनासागर सामुदायिक वन क्षेत्रमा शनिबार साँझ हात्तीको बथान प्रवेश गर्दा स्थानीयवासीमाथि आक्रमण भएको छ । आक्रमणमा बेलडाँडी गाउँपालिका वडा नम्बर १ कालिका बस्ने ४७ वर्षीय डम्बर सिंह बिष्ट घाइते हुनु भएको छ । चान्देवबाट बेलडाँडी घरतर्फ साइकलमा सवार बिष्टलाई जंगली हात्तीले आक्रमण गरी शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।

घाइते बिष्टलाई नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धनगढी पठाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । अर्का एक जना भने साइकल छोडेर भाग्न सफल भई सकुशल घर पुगेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपेन्द्र बहादुर चन्दले बताउनु भयो । स्थानीयका अनुसार करिब २० देखि २५ हात्तीको समूह निकै आक्रामक देखिएको छ । सोही कारण तत्कालै चान्देव-बेलडाँडी मार्ग प्रयोग नगर्न आग्रह गरिएको छ ।

जंगल किनारका स्थानीयवासी भने निरन्तर त्रासमा छन् । “हामीलाई हरेक दिन हात्तीको डरले घरमै बस्न गाह्रो छ । सरकार र सम्बन्धित निकायले समस्या बुझिदिनुपर्छ,” स्थानीयले गुनासो पोखेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio