नरेश राना / लालझाडी
कञ्चनपुरको लालझाडी गाउँपालिका–४, सिकलपट्टि जाईमा तीनदिने गौरा विशेष कार्यक्रम तथा खुल्ला देउडा प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न उक्त सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृतिको जगेर्ना तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।




कार्यक्रमको अध्यक्षता पदम सिंह कार्कीले गर्नुभएको थियो भने मुख्य अतिथि वडा नं. ४ का वडा अध्यक्ष बहादुर राना रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिको रूपमा नवदुर्गा सामुदायिक वनका अध्यक्ष लाल सिंह सेटीको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य टेकबहादुर ऐरले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम शिक्षिका लीला बति भट्टको कुशल सञ्चालनमा अघि बढाइएको थियो।


देउडा गीतमा युवाको उत्साहजनक सहभागिता
तीन दिनसम्म चलेको कार्यक्रममा खुल्ला देउडा प्रतियोगिता आयोजना गरिएको थियो, जसमा विभिन्न टोल–टोल तथा छिमेकी क्षेत्रबाट आएका युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। देउडा गीत, नृत्य र परम्परागत लयमा आधारित यो प्रतियोगिताले गौरा पर्वको सांस्कृतिक महत्त्वलाई झल्काउने काम गरेको छ।
प्रतियोगितामा सहभागी टोलीहरूले सामाजिक सन्देशमूलक गीत प्रस्तुत गर्दै लोकसंस्कृतिको पहिचानलाई अझ सशक्त बनाएका थिए। सहभागीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिने समूहहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।

संस्कृति संरक्षणतर्फ ध्यान
गौरा पर्व विशेष गरी सुदूरपश्चिम नेपालमा मनाइने प्रमुख सांस्कृतिक पर्व हो। यस कार्यक्रममार्फत नयाँ पुस्तालाई परम्परागत संस्कृति र संस्कारसँग जोड्ने प्रयास गरिएको वडा अध्यक्ष बहादुर रानाले बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायमा एकता, सहकार्य र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय सरकारको सक्रियता
कार्यक्रममा स्थानीय सरकारको आर्थिक तथा नैतिक सहयोग अत्यन्तै सराहनीय रहेको आयोजकले बताएका छन्। लालझाडी गाउँपालिकाले हरेक वर्ष यस किसिमका सांस्कृतिक कार्यक्रमहरूलाई प्रोत्साहन गर्दै आएको र आगामी दिनमा अझ स्तरीय रूपमा आयोजना गरिने प्रतिवद्धता जनाइएको छ।