एकीकृत फोहोरमैला केन्द्र दीर्घकालीन व्यवस्थापनतर्फ, स्रोतमै वर्गीकरण, कम्पोस्ट मलदेखि रिसाइकलसम्म

१० भाद्र २०८२, मंगलवार
एकीकृत फोहोरमैला केन्द्र दीर्घकालीन व्यवस्थापनतर्फ, स्रोतमै वर्गीकरण, कम्पोस्ट मलदेखि रिसाइकलसम्म

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा आएको एकीकृत फोहोरमैला केन्द्रलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सोमबार नगर प्रमुख, शहरी विकास कार्यालयका प्रतिनिधि, निर्माण कम्पनी र फोहोर व्यवस्थापनमा खटिने टोलीबीच विशेष छलफल सम्पन्न भएको छ।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, एशियाली विकास बैंक (ADB) का बिशेषज्ञ विज्ञ डा. डण्डी राज पाठक,शहरी विकास कार्यालय शिखर तामाङ् , आयोजना ब्यावस्थापक/ निर्माण कम्पनीका म्यानेजर ई. आशोक पाण्डे, “हाम्रो ग्रीन सुदूरपश्चिम परामर्श स्वच्छ वातावरण प्रणाली” का प्रतिनिधिहरू गोविन्द रावल, केशब राज पन्त लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा नगरपालिकामा फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन स्रोतमै फोहोरको वर्गीकरण गर्ने रणनीति मुख्य एजेण्डा बनेको थियो। सहभागीहरूका अनुसार घर–घरमै कुहिने, नकुहिने र हानिकारक फोहोरलाई छुट्टाछुट्टै सङ्कलन गर्न सकेमा फोहोरमैला केन्द्रको आयु दीर्घकालीन हुने र वातावरणीय प्रदूषण घटाउन सकिने निष्कर्ष निकालियो।

यस प्रक्रियाअन्तर्गत कुहिने फोहोरलाई कम्पोस्टिङ गरेर जैविक मल उत्पादन गर्ने, नकुहिने फोहोरलाई पुनःप्रयोग (रिसाइकल) गरी नयाँ परियोजनामा प्रयोग गर्ने र हानिकारक फोहोरलाई सुरक्षित व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ। यसरी व्यवस्थापन गर्दा डम्पिङ साइटमा पुग्ने फोहोरको मात्रा घट्ने र दीर्घकालीन रुपमा खर्च पनि बचत हुने नगरपालिकाले जनाएको छ।

विशेष गरी फोहोरमैला व्यवस्थापन केन्द्रको सञ्चालनको अनुगमन, निरीक्षण तथा स्रोतमै वर्गीकरणलाई मजबुत बनाउने, गोदावरी नगरपालिकाको तर्फबाट फोहोर जलाउने वा जथाभावी फाल्नेहरूलाई कारबाहीको दायरामा ल्याउने र स्वच्छ गोदावरी बनाउने अभियानमा जनचेतना फैलाउने समेत निगरानी गरिने जनाइएको छ।

नगर प्रमुख भट्टले गोदावरीलाई सफा, स्वस्थ र हरित नगरपालिका बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए। उनले फोहोर व्यवस्थापनलाई केवल नगरपालिकाको जिम्मेवारी नभई नागरिकको पनि दायित्व भएको उल्लेख गर्दै स्रोतमा नै वर्गीकरण गर्ने अभियानलाई सफल बनाउन सक्रिय सहभागिताको आग्रह गरे।

सहभागी विज्ञहरूले पनि आधुनिक प्रविधि र स्थानीय तहबीचको समन्वयमार्फत फोहोर व्यवस्थापनलाई दिगो बनाउन सकिने सुझाव दिए। छलफलमा सहभागी टोलीले गोदावरी नगरपालिकालाई उदाहरणीय नगर बनाउन एकीकृत फोहोर व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

Wedding Story advertisement Of Jems Movies & Photo Studio