उखु किसान आन्दोलन : ‘अनुदान भुक्तानी नगरेसम्म हाम्रो संघर्ष जारी रहन्छ’

८ भाद्र २०८२, आईतवार
उखु किसान आन्दोलन : ‘अनुदान भुक्तानी नगरेसम्म हाम्रो संघर्ष जारी रहन्छ’

काठमाडौं । गत आर्थिक वर्षको उखु अनुदान भुक्तानी नगरेको भन्दै देशभरका किसान फेरि सडकमा उत्रिएका छन् । माइतीघर मण्डलामा आइतबार आयोजित विरोध प्रदर्शनमा किसानहरूले “उखु कृषकको शोषण बन्द गर”, “अनुदान भुक्तानी गर” र “मूल्य निर्धारणमा कृषकलाई सहभागी गर” भन्ने मागसहित आवाज बुलन्द पारे ।

उखु उत्पादक महासंघ र विभिन्न उखु उत्पादक कृषक समितिहरूको नेतृत्वमा भएको आन्दोलनमा किसानहरूले गत वर्षको वक्यौता रकम प्रति क्वीन्टल ७० रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।

कञ्चनपुरबाट काठमाडौं आइपुगेका किसान चेतन कुमार राईले सरकारप्रति आक्रोश व्यक्त गर्दै भने, “प्रत्येक वर्ष पाउँदै आएको ७० रुपैयाँ अनुदान रकम यस वर्ष सरकारले कटौती गरिदिएको छ । किसानको पसिनाको मोल कटौती हुनु हामीमाथि अन्याय हो । सरकारले तत्काल अनुदान भुक्तानी नगरेसम्म हाम्रो संघर्ष जारी रहन्छ ।”

किसानहरूले अनुदान कटौतीमाथि असन्तोष जनाउँदै आफूहरू सडकमा आउन बाध्य भएको बताएका छन् । उनीहरूको भनाइमा, सरकारले वाचा पुरा नगर्दा किसान परिवारहरू थप आर्थिक संकटमा धकेलिएका छन् ।

आन्दोलनमा सहभागी किसानहरूले प्रहरी प्रशासनले प्रदर्शन दमन गर्ने प्रयास गरेको आरोप पनि लगाएका छन् । “आम्दानीको मुख्य स्रोत नै उखु खेती हो । तर सरकारले हामीलाई बेवास्ता गर्दै आएको छ । हाम्रो हक अधिकारका लागि लड्नैपर्छ भन्ने ठानेर सडकमा आएका हौं,” आन्दोलनमा सहभागी अर्का किसानको भनाइ थियो ।

यसअघि पनि पटक–पटक आन्दोलन गर्दै आएका किसानहरूले यो पटक सरकारको ढिलासुस्ती र अनुदान कटौतीविरुद्ध कडा रूपमा प्रतिवाद गरेका छन् । उनीहरूले किसानको पसिना र श्रमको सम्मान हुने गरी तत्काल अनुदान भुक्तानी गर्न सरकारलाई चेतावनी दिएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio