बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ फेरि विवादको केन्द्रमा आएकी छिन् । एकपछि अर्को कमजोरीलाई ढाकछोप गर्ने नाममा दादागिरी शैली प्रदर्शन गर्दै आएकी उनले यसपटक आफ्नै कार्यकक्षलाई “अनौपचारिक अनुसन्धान केन्द्र” मा रूपान्तरण गरिन् ।
जो बोल्यो, त्यसलाई धम्की दिने स्वभावले चिनिने नाथले यसअघि पालिकाको सरकारी गाडीको चावी थुतेर “तेरो अध्यक्षको घाँटी च्यापेर मारिदिन्छु” भन्ने धम्कीपूर्ण अडियो सार्वजनिक भएपछि ठूलो आलोचना खेप्नु परेको थियो । त्यही अडियो कसले बाहिर ल्यायो भन्ने खोजीमा उनले पालिकाका केही कर्मचारीलाई लाइनमै उभ्याएर मोबाइल थुतेर एकएक गर्दै भित्र बोलाई निरंकुश शैलीमा स्पष्टिकरण सोधेको खुलासा भएको छ ।
कर्मचारीहरूको भनाइ अनुसार नाथले ती कर्मचारीलाई “मैले बोलेको अडियो पत्रकारसम्म पुग्ने हिम्मत कसले ग¥यो ? जागिरबाट निकालिदिन्छु” भन्दै मोबाइलमै चेक गर्न लगाइन् । पाँच जना कर्मचारीमाथि गरिएको यस किसिमको निरंकुश शैलीको कारबाहीले बेलडाँडी गाउँपालिकामा त्रास फैलिएको छ ।
सार्वजनिक अडियोमा स्पष्ट सुन्न सकिन्छ—नाथको आक्रोशित स्वर, छाडा शब्द, र धम्कीपूर्ण अभिव्यक्ति । तर, त्यसबारे आत्मालोचना वा क्षमायाचनाको साटो उनले उल्टै कर्मचारी र पत्रकारमाथि नै दोष थोपरेकी छन् ।
अडियो प्रकरण सार्वजनिक भएको भोलिपल्ट नाथले बेलडाँडीमै पत्रकार सम्मेलन बोलाइन ्। तर, सो कार्यक्रममा बेलडाँडीका करिब एक दर्जनभन्दा बढी स्थानीय पत्रकार र नेपाली काँग्रेस आवद्ध प्रेस युनियनका पत्रकारहरुलाई नै निमन्त्रणा नगरिएको थियो । पत्रकारहरूकै भनाइमा—“हामीलाई बाहिर राख्नुको कारण एउटै हो, सत्य उजागर गर्न सक्ने डर ।”
नाथले कार्यक्रममा अडियोबारे प्रष्ट जवाफ दिनुको साटो उल्टै आरोप–प्रत्यारोपमै समय बिताइन् । यसरी स्थानीय पत्रकारलाई अलग्याइएको घटनाले बेलडाँडीबासीमाझ उनको स्वभाव र शैलीबारे अझै ठूलो प्रश्न उठाएको छ ।
नाथको विवाद यतिमै सीमित छैन । गाडी दुरुपयोगको आरोप तिनले बारम्बार खेप्दै आएकी छन् । खासगरी, आउँदो १० गते पर्ने तीजको दर खान उनले यसै भाद्र १ गते, सार्वजनिक विदाको दिनमै बेलौरीस्थित शोभा तालमा सरकारी गाडी चढेर गएको प्रमाण भेटिएको छ । सोही दिन गाउँपालिका प्रवक्ता गजबहादुर बिष्टलाई महेन्द्रनगरसम्म उनकै निर्देशनमा छोड्न लगाएको खुलासा भएको छ ।
सार्वजनिक विदामा सरकारी गाडी निजी प्रयोजनमा प्रयोग हुनु नै गैरकानुनी मानिन्छ । तर, आफैं धामी आफैं झाँक्री बन्दै आएकी उपाध्यक्ष नाथ यसमा भने ‘गाडी दुरुपयोग भयो’ भनेर अरुलाई दोषारोप गर्न पछि पर्दिनन् । त्यति मात्र होइन आफैले पाटी खान लगेको गाडीमा चुरोटको बट्टा भेटिनु के अस्वभाविक थियो र ?
बेलडाँडी गाउँपालिकामा रहेको सरकारी गाडी कर्मचारीदेखि जनप्रतिनिधी सबैले आवश्यकता अनुसार प्रयोग गर्दै आएका छन् । तर, उपाध्यक्ष नाथको व्यवहार र कार्यशैलीले अब प्रश्न उठेको छ—“गाडी भन्दा ठूलो समस्या त उपाध्यक्षकै स्वभाव र कार्य हो कि ?”
कर्मचारीहरू त्रासमा छन्, जनप्रतिनिधीहरू हैरान छन्, र अब सामान्य जनता समेत असहज महसुस गर्न थालेका छन् । गाउँपालिकाका नागरिक भन्छन्, “नियम कानुन तोडेर, धम्की दिएर, अनि उल्टै पत्रकार र कर्मचारीलाई दोष दिएर बेलडाँडी चल्दैन ।”