धनगढी – धनगढी उप-महानगरपालिका वडा नं ५ ले श्री कृष्ण जन्म अष्टमीको अवसरमा “हरियो वडा अभियान” अन्तर्गत वडाबासीलाई १५ हजार बोट विरुवा वितरण गरेको छ । मोरिङ्गा, आँपसहित विभिन्न जातका बोट विरुवा वितरण गर्दै वडाले वातावरण संरक्षण र हरियाली विकासतर्फ महत्वपूर्ण कदम चालेको हो ।
कार्यक्रममा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त, धार्मीक अभियन्ता नरेन्द्र शाह, सुदुरपश्चिमका सर्वोत्कृष्ट रक्तदाता दिपक उपाध्याय र सरसफाइ अभियन्ता लोक बहादुर खड्का लाई ५ नं वडाले विशेष सम्मान समेत गरेको थियो ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गजेन्द्र विक्रम शाहीले गरेका थिए। कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय नारायण दत्त भट्ट प्रमुख अतिथि रहेका थिए भने धनगढी उप-महानगरपालिकाका निवर्तमान प्रमुख नृप बहादुर वड, प्रदेश नीति योजना आयोगका सदस्य नृप सुनार, कुण्डा सब-डिभिजन वन प्रमुख दिनेश यादव,वनस्पति कार्यालयका प्रतिनिधि ,जनप्रतिनिधि , विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यार्थी तथा वडाबासीको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै भने, “हामी जीवित रहनका लागि वृक्षारोपण गर्नैपर्छ । जलवायु परिवर्तनका कारण यस क्षेत्रमा खानेपानीका धारा समेत सुक्न थालेका छन्। यस्ता उदाहरणीय कार्य अन्य वडाले पनि अनुकरण गर्नुपर्छ ।”
वडाले थालेको “हरियो वडा अभियान” मार्फत वडा नं ५ लाई हराभरा, स्वच्छ र दिगो विकासतर्फ उन्मुख बनाउने लक्ष्य लिइएको यसमा टोल विकास र विद्यालयको सहकार्यमा हरियो वडा अभियान कार्यक्रम सम्पन्न भएको भनेर आयोजकले जनाएको छ ।