लालझाडी – कञ्चनपुरमा अनुदानमा कृषि सामग्री दिने भन्दै ठगिएका किसानले सहकरी कार्यालयमा तालाबन्दी गरेका छन । ५० प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै दुईवटा सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थाले कञ्चनपुरको लालझाडीका साढे तीन सय किसानको अढाई करोड रकम उठाएका थिए । तर, एक वर्षसम्म पैसा वा उपकरण दुवै नपाएपछि किसानले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन ।
सुरो नेपालमार्फत पावरटिलर, पानी तान्ने मोटर, घाँस काट्ने चारा मेसिन दिलाउने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले पैसा उठाएका थिए । गत वर्ष अनमोलले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट एक करोड ३२ लाख रुपैयाँ संकलन गरेका थिए ।

कृषि सामग्री खरिदका लागि कृषिउपज बिक्री–वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर सहकारीलाई अग्रिम पैसा बुझाएका किसान बिचल्लीमा छन् । पटक–पटक पैसा फिर्ता माग्दा पनि नपाएपछि तालाबन्दी गरिएको लालझाडीका किसान अर्जुन चौधरीले बताए ।
अर्का किसान खडक रानाले आफूले अनमोल किसान सहकारीमै गएर रकम बुझाएको बताए । आधुनिक कृषि औजार खरिद गरेर कृषि गर्न खोजेको पनि ठगिएपछि समस्यामा परेको उनले बताए । स्थानीय ले सुरो नेपालले किसानबाट लाखौँ रकम संकलन गरेर आफूहरूको बिचल्ली बनाएको बताए । उनले किसानलाई कृषि सामग्री दिन्छु भन्दै किसानबाट लाखौँ रकम संकलन गरेर केही मान्छे विदेश भ्रमणमा घुम्न गएको बताए । किसानबाट संकलन भएको रकम केही सुरो नेपाल लालझाडीका स्थानीय एजेन्ट, सहकारीदेखि व्यक्तिहरूले दुरुपयोग गरेको दाबी गरेका छन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले ठगी मुद्दामा अनुसन्धान भइरहको बताए । उनका अनुसार सुरो नेपालका अध्यक्ष सुशीला खड्का, सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा छन् । सहकारीबाट टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको थियो । सुरो नेपालको नाममा कैलालीका बिभिन्न क्षेत्रमा पनि किसान ठगिएका छन ।