नरेश राना / कञ्चनपुर
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ५ स्थित बन्तरीया गाउँमा ‘हमर संस्कृति, हमर पहिचान – संस्कृति जुगन हमर अभियान’ भन्ने मूल नाराका साथ रानाथारु तीज मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम रानाथारु तीज मिलन कार्य समिति बन्तरीयाको आयोजनामा र बेलौरी नगरपालिका वडा नं. ५ को सह–आयोजनामा सम्पन्न भएको हो।


कार्यक्रमको सभाध्यक्षता रानाथारु तीज मिलन कार्य समिति की अध्यक्ष बिस्न रानाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप–प्रमुख जोग राम चौधरी रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बेलौरी नगरपालिका वडा नं. ५ का कार्यवाहक वडा अध्यक्ष कृपा राम चौधरी र वडा नं. ८ का वडा अध्यक्ष विस राम राना रहनुभएको थियो।

त्यस्तै अन्य अतिथिहरूमा बेलौरी नगरपालिका कार्यपालिकाकी सदस्य आरती कुमारी चौधरी, वडा नं. ५ का वडा सदस्य शंकरु राना, सीता विक, नेपाल रानाथारु समाज कञ्चनपुरका जिल्ला अध्यक्ष मनोहर लाल राना, बन्तरिया गाउँका भलमंसा गोबिन्द राना, र भकुण्ड गाउँका पधना धोके राना लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य समिति की कोषाध्यक्ष रुक्मनी रानाले राख्नुभएको थियो। उहाँले रानाथारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्वबारे जोड दिनुभयो।
कार्यक्रममा रानाथारु महिलाहरूले तीज गीत, नाच, र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। सहभागीहरूले रानाथारु समुदायको मौलिक संस्कृति झल्किने पहिरन र गीत–संगीतमार्फत तीज पर्वलाई उत्सवमय बनाएका थिए।
रानाथारु तीज मिलन कार्यक्रमले समुदायको एकता, सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक सद्भाव अभिवृद्धिमा टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रम सञ्चालन श्रीषा राना ले सञ्चालन गर्नु भएको थियो।