धनगढी, बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराको आयोजनामा बिपद ब्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम कैलारी गाउँपालिका वडा नं ३ सुर्मीनालामा भएको छ ।
सिमान्तकृत थारु समुदाय र विपद प्रभावितहरुको बसोबास रहेको सुर्मीनालामा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले बिपद टास्कफोर्स गठन गरी बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रम संचालन गर्दे आईरहेको छ ।
कैलारी गाउँपालिकाको समन्वय,KIA को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले अभिमुखीकरण गरिएको थियोे ।
उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।
कार्यक्रमका प्रमुख अतिथी एंव कैलारी गाउँपालिका विपद व्यवस्थापन समिति संयोजक ठागुराम चौधरी ले पालिकासंगको समन्वय तथा सहकार्यमा MPDS संस्थाले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा हाम्रो ठाउँमा अत्यन्तै राम्रो कार्यहरु गरिरहेको बताउनु भयो । उहाँले टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखिकरणले उनीहरुको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कैलारी गाउँपालिका वडा नं ३ का अध्यक्ष सन्तराम चौधरीले यस संस्थाले विगतका दिनहरुमा पनि वडासंग मिलेर कार्य गरेको स्मरण गर्दे आगामी दिनमा पनि सहकार्य रहने बताउनु भयो । साथै उहाँले टास्कफोर्सको क्षमता विकास अभिवृद्धि र परिचालनका लागि विपद सम्वन्धी तालिमका लागि कार्यक्रम गर्न सकिने बताउनु भयो । कार्यक्रममा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म,खोनपुर कैलालीका डिएसपी नबिन चन्द ले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धी गर्ने कार्यमा यस्ता अभिमुखीकरण कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै विपदमा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सके जोखिम व्यवस्थापनमा थप टेवा पुग्ने बताउनु भयो । साथै उहाँले पालिका र संस्थाको समन्वयमा ९ वटै वडामा बिपद सूचक समूह निर्माण गरिएको पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा सामाजिक अगुवा कृष्ण चौधरी,विपद टास्कफोेर्स कोषाध्यक्ष अनिता चौधरी,भलबन्सा रामसमझ चौधरी,राम वहादुर चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय बिकास समाजका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए । कार्यक्रमको संचालन सावित्री चौधरीले गरेकी थिइन भने सुर्मीनाला टास्कफोर्स अध्यक्ष जगलाल चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।