नरेश राना / कञ्चनपुर
कञ्चनपुरको दक्षिणी क्षेत्र, बेलौरी नगरपालिका–३ स्थित पडावमा रानाथारु समुदायको तीज मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। पश्चिम पडाव टोल समिति को आयोजनामा र वडा नं ३ को सहयोग मा सो कार्यक्रम सम्पन्न भएको थियो। सांस्कृतिक पहिचान र समुदायबीचको एकता मजबुत पार्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम रानाथारु समुदायको परम्परागत झल्को दिने खालको रह्यो।


कार्यक्रमको सभाध्यक्षता पडाव गाउँ टोल समिति अध्यक्ष झेल सिंह रानाले गर्नु भएको थियो। प्रमुख अतिथिका रूपमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको उपस्थिति रहेको थियो। साथै कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाल रानाथारु समाज कञ्चनपुरका जिल्ला अध्यक्ष मनोहर लाल राना, बेलौरी नगरपालिकाका प्रवक्ता हर्क बहादुर भूल, नेपाल आदिवासी जनजाति महासंघ बेलौरी नगर अध्यक्ष कृष्ण गम्वा, गोकिल्पुरका भलमन्सा ध्रुप राना, खिरियाका भलमन्सा रत्ती राना, पूर्व नगर भलमन्सा अध्यक्ष सुन्दर चौधरी, तथा नेपाल केन्द्रीय विद्युत सहकारी संघका अध्यक्ष गोविन्द भट्ट रहनु भएको थियो।


कार्यक्रममा स्वागत मन्तव्य जानकी रानाले प्रस्तुत गरेकी थिइन् भने सञ्चालनको जिम्मेवारी नेपाल रानाथारु महिला सङ्घकी कोषाध्यक्ष विमला रानाले सम्हालेकी थिइन्।
कार्यक्रममा रानाथारु समुदायका महिलाहरूको सांस्कृतिक नृत्य, तीज गीत र पहिरनले कार्यक्रमको रौनकता थपेको थियो। सहभागीहरूले तीजको सांस्कृतिक महत्वलाई आत्मसात गर्दै उत्साहपूर्वक सहभागिता जनाएका थिए।

समाप्तिमा आयोजक पक्षले अतिथिहरू, सहभागीहरू र सहयोगीहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको थियो।