कञ्चनपुरमा ब्राउनसुगरसहित चार युवा पक्राउ

२०८२ श्रावण ६, मंगलवार ०६:३०
कञ्चनपुरमा ब्राउनसुगरसहित चार युवा पक्राउ

कन्चनपुर  । कञ्चनपुरका दुई ठाउँबाट घातक लागूपदार्थ खैरो हेरोइन (ब्राउनसुगर)सहित आइतबार प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

साँझ ६ बजे कृष्णपुर नगरपालिका६ सिंहपुरमा एउटै मोटरसाइकलमा सवार तीनजना र पुनर्वास नगरपालिका–११ डोकेबजारमा एक जनालाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा सिंहपुरको र भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ७७३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक र पछाडी सवार अन्य दुई जनासँग ब्राउनसुगर फेला परेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय आकाश राना र मोटरसाकल पछाडी सवार २५ वर्षीय रोशन बोगटी तथा कृष्णपुरकै मौरीफाँटाका १९ वर्षीय भवन बोगटी रहेका छन् ।

उनीहरुको साथबाट चार ग्राम दुई सय २० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको बताइएको छ ।

त्यस्तै, आइतबार साँझ साढे ७ बजे डोकेबजारस्थित चेकप्वाईन्टमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा कैलालीको धनगढी उपमहानगरपालिका–४ चौराहका १९ वर्षीय आयुष मल्ल दुई ग्राम ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।