बेलौरीमा नेकपा (माओवादी केन्द्र) नगर समितिको दोस्रो सम्मेलन भएसँगै नयाँ समिति गठन भएको छ।
केन्द्रीय समिति सदस्य, संविधानसभा सदस्य एवं कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (विक्रम) को प्रमुख अतिथ्यता तथा तत्कालीन नगर समितिका अध्यक्ष लालबहादुर चौधरीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्द सत्रले नयाँ समितिको गठन गरेको हो।

समितिमा पुनः लालबहादुर चौधरी अध्यक्ष चुनिएका छन् भने उपाध्यक्षमा रामप्रकाश बढायक र शारदा चौधरी रहेका छन् त्यसैगरी सचिव सुन्दर चौधरी र सहसचिव राजुबहादुर कुँवर तथा कोषाध्यक्षमा झकबहादुर सिरिस सहित ४१ सदस्य नयाँ समितिको गठन भएको हो।
दोस्रो पटक पुनः विश्वासको मत दिएर अध्यक्षको जिम्मेवारीलाई निरन्तरता दिन अनुमति दिएकोमा कृतज्ञता व्यक्त गर्दै समितिका अध्यक्ष लालबहादुर चौधरीले दोस्रो कार्यकाल अझ प्रभावकारी बनाउने बताए। “भ्रष्टाचार, बेथिति र दलाली प्रवृत्तिविरुद्ध सशक्त रूपमा उभिन संगठन तयार हुनेछ,” उनको भनाइ थियो।

प्रमुख अतिथि भट्टले माओवादी आन्दोलनलाई नयाँ पुस्तासँग जोडेर लग्न पर्ने र जनताको हितमा थप क्रियाशील भई पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै सम्मेलनमा उपस्थित केन्द्रीय सदस्य दिपा चौधरीले पार्टीको एकता, महिलाको भूमिका र संगठनको राजनीतिक दिशा प्रष्ट रहनुपर्ने बताइन्। “महिलालाई नेतृत्वमा सहभागिता सुनिश्चित नगरी क्रान्तिको लक्ष्य पूरा हुन सक्दैन। पार्टी अब वर्गीय संघर्षसँगै लैंगिक समानताको यात्रामा पनि अगाडि बढ्नुपर्छ”, उनको जोड थियो।सुदूरपश्चिम प्रदेश सदस्य अमरसिंह चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “संगठनको आधार स्थानीय तह हो। यहीँबाट परिवर्तनको बीउ छरिन्छ। त्यसैले संगठन बलियो र जनउत्तरदायी हुनु जरुरी छ।”
प्रदेश सदस्य पोतीलाल चौधरीले आफ्नो मत राख्दै भने “अनुमति दिनुहुन्छ भने म नाम प्रस्ताव गर्छु, सहमतिमा समिति चयन गर्नुपर्छ र व्यवहारमा परिवर्तन ल्याउने काममा लाग्नुपर्छ। जनताको समस्या सुन्ने र समाधानमा अगाडि बढ्ने पार्टी हाे हाम्रो ।”सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाट मदनसेन बडायक, जिल्ला अध्यक्ष खेमराज पण्डे, सचिव सहवीर सुनार, हर्कबहादुर भुल, मनोहर राना, कैलाश सिंह विष्ट, राजेश भट्ट, सोमलाल चौधरीलगायतका नेताहरूको समेत उपस्थिति थियो।