कञ्चनपुरको लालझाडी गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । लालझाडी गाउँपालिकाको सहकार्यमा धनगढीस्थित जिएम टेक्निकल इन्स्टिच्युटको आयोजनामा सोमबार तीन स्थानमा एकै दिन सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएका हुन् । कार्यक्रम अन्तर्गत वडा नम्बर २ स्थित शङ्करपुर स्वास्थ्य चौकी, वडा नम्बर ५ स्थित देखतभुली स्वास्थ्य चौकी र वडा नम्बर ४ मा रहेका डाँगाजाई तथा सिकलपट्टी आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको सामाजिक परीक्षण गरिएको हो ।शङ्करपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष आशाराम रानाको अध्यक्षतामा स्वास्थ्य चौकी प्रमुख यज्ञबहादुर धामीले आर्थिक वर्ष २०८०/८१ र २०८१/०८२ को हालसम्ममा संस्थाले उपलब्ध गराएका सेवाहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “खोप सेवा, मातृत्व सेवा, किशोर-किशोरीमैत्री कार्यक्रमदेखि ओपिडी र प्रयोगशाला सेवा नियमित रूपमा उपलब्ध गराइएको छ ।

सेवाग्राहीको सन्तुष्टि हाम्रो प्राथमिकता हो ।” सेवाग्राहीहरूले सहज रूपमा सेवा पाएकोले सन्तुष्टि व्यक्त गर्नुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष अमरसिंह धामीले वडाका जनप्रतिनिधि र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूको अनवरत प्रयासले सफलता प्राप्त भइरहेको उल्लेख गर्दै व्यवस्थापनमा थप प्रयास जारी रहेको सुनाउनु भयो । वडाध्यक्ष आशाराम रानाले समापनका क्रममा भन्नुभयो, “स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणमा जनताको सुझाव अमूल्य छन् । अब थप स्वास्थ्य सेवा र जनशक्तिको व्यवस्थापनमा पालिकाले थप ध्यान दिनेछ ।”

यसै गरी देखतभुली स्वास्थ्य चौकीमा वडा अध्यक्ष पहलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख लीलाकान्त झाले सेवा विस्तार र नागरिक सहभागितामा आधारित सुधारका कार्यक्रमहरूबारे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै स्वास्थ्य चेतना बढिरहेको छ । देखतभुली स्वास्थ्य चौकी वर्षौँदेखि स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट स्थानमा रहेको छ । यसलाई कायम राखी थप सेवा विस्तारमा केन्द्रित छौँ । स्रोतको सुनिश्चितताका लागि सरकारले ध्यान दिनुपर्छ ।” सेवाग्राहीहरू सबैले स्वास्थ्यकर्मीहरूको व्यवहार, समयमै सेवा उपलब्धता र स्वास्थ्य संस्थाको पहुँचमा प्रशंसा व्यक्त गर्नुभयो । वडाध्यक्ष पहलबहादुर थापाले समापनका क्रममा भन्नुभयो, “हामीले सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने प्रयास गरेका छौँ । जनताको आवाज सेवा सुधारको प्रमुख आधार हो । आगामी दिनहरूमा थप सेवा विस्तार गर्ने योजना रहेको छ ।”डाँगाजाई र सिकलपट्टी आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम वडाध्यक्ष बहादुर रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सिकलपट्टी आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख महेशराज बडूले दुवै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा र गतिविधिका बारेमा प्रकाश पार्नुभयो । डाँगाजाई आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रतिनिधि उषा किरण बोहराले उपलब्ध सेवाहरू सहज रूपमा प्रवाह गरिरहेको बताउँदै प्रयोगशाला र महिला तथा किशोरीमैत्री सेवाको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । कार्यक्रममा स्वास्थ्य सेवाग्राहीहरूले सन्तोषजनक सेवा पाइरहेको प्रतिक्रिया दिनु भएको छ । केहीले भने सडकको असहजता र प्रयोगशाला र जनशक्तिको अभावका कारण ल्याब सेवा, गर्भवती जाँच तथा सुरक्षित सुत्केरी सेवामा बाधा उत्पन्न हुने गरेको गुनासो गर्दै सुधारका लागि माग गर्नुभएको छ । वडाध्यक्ष बहादुर रानाले भन्नुभयो, “गाउँ स्तरमा स्वास्थ्य चेतनाको अभिवृद्धि र संस्थाको सेवा पहुँच दुवैमा प्रगति देखिएको छ । अब गुणस्तरीय सेवा र उपकरणको व्यवस्थापन प्राथमिकतामा रहनेछन् ।”सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सञ्चारकर्मीहरू र नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमका सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले स्वास्थ्य संस्थाको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । आयोजक संस्थाका अनुसार असार २४ गते मंगलबार गाउँपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने छ । बिहान १० बजे वडा नम्बर ६, मध्याह्न १२ बजे वडा नम्बर ३ र दिउँसो २ बजे वडा नम्बर १ का स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने र ती कार्यक्रममा सम्बन्धित क्षेत्रका सेवाग्राहीहरूको सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ ।