लालझाडीमा डेङ्गु लगायत किटजन्य रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ असार १४, शनिबार १३:३६
लालझाडीमा डेङ्गु लगायत किटजन्य रोग नियन्त्रण तथा रोकथामका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 नरेश राना / लालझाडी

कञ्चनपुरको लालझाडी गाउँपालिकामा डेङ्गु लगायतका किटजन्य रोगहरूको नियन्त्रण तथा रोकथामका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। स्वास्थ्य सुरक्षा र जनचेतनाका लागि आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न वडाबाट सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्ष गाउँपालिका अध्यक्ष निर्मल राना  रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै, डेङ्गु नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा लालझाडी  गाउँपालिका वडा नं १ का वडा अध्यक्ष प्यारे लाल राना, २ का वडा अध्यक्ष आशाराम राना, वडा नं ३ का वडा अध्यक्ष टिका राम डगौरा ,६ का वडा अध्यक्ष हर्क नारायण जोशी स्थानीय विद्यालयका शिक्षक, स्थानीय महिला स्वस्थ स्वयमसेविका  र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सरोकारवालाबीच डेङ्गु रोगको पहिचान, रोकथाम, समयमै उपचार, सरसफाइ र सचेतनाका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको सञ्चालन स्वस्थ शाखा संयोजक खगेन्द्र चौधरी ले  गर्नुभएको थियो। उहाँले डेङ्गु लगायतका किटजन्य रोगहरूको अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै जनचेतना अभिवृद्धिमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

अन्तमा सहभागीहरूले स्थानीय तहमा सचेतनामूलक अभियान, सरसफाइ कार्यक्रम, घर-घरमा गएर लार्भा नष्ट गर्ने कार्य, तथा विद्यालय र समुदायस्तरमा स्वास्थ्य शिक्षा प्रदान गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए। आ व .२०७९/०८० मा २ जना डेङ्गु भाइरस पुष्टि भएको २०८०/०८१  मा  ११ जना मा डेङ्गु भाइरस पुष्टि भएको थियो भने २०८१/०८२ मा १४ जना मा पुष्टि  भएको स्वस्थ शाखा संयोजक चौधरी ले जानकारी दिनु भएको थियो। साथै लालझाडी गाउँपालिका को कार्यलय को वरिपरी डेङ्गु रोग कसरी लाग्छ,कसरी सर्छ,कसरी बच्ने भन्ने विषय मा डेमो सहित कार्यक्रम सम्पन्न गरिएको थियो।