नरेश राना /लालझाडी
लालझाडी गाउँपालिकाको गाउँसभा १८औं अधिवेशनको विशेष अवसरमा स्वास्थ्य सेवामा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। गाउँपालिकाले स्वास्थ्य सूचकांकको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने तीनवटा स्वास्थ्य संस्थाहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा छनौट गरी सम्मान गरेको हो।


प्रथम स्थान प्राप्त गर्ने स्वास्थ्य संस्था देखतभूली स्वास्थ्य चौकी, द्वितीय स्थान प्राप्त आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, र तृतीय स्थान प्राप्त चान्देव स्वास्थ्य संस्थालाई गाउँपालिकाले स–सम्मान नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्दै सफलतापूर्वक सम्पादन गरिएको सेवाको उच्च प्रशंसा गरेको छ।

यस अवसरमा गाउँपालिकाले ९ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू, म.सा.स्वा.स्व.से. (महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका) तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रवाहमा योगदान गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दै भविष्यमा पनि यस्तै समर्पित भावना र मेहनतका साथ कार्य गर्न प्रेरित गरेको छ।


गाउँपालिकाका अध्यक्षले स्वास्थ्यकर्मीहरूद्वारा गरिएको अथक सेवा र योगदानले पालिकाको समग्र स्वास्थ्य स्थिति सुधारमा उल्लेखनीय भूमिका खेलेको बताए। साथै, उत्कृष्ट कार्य सम्पादन गर्ने सबै स्वास्थ्य संस्थाहरूलाई आगामी दिनहरूमा झन् सशक्त र परिणाममुखी सेवा प्रवाह गर्न शुभकामना व्यक्त गरे।

यस कार्यक्रमले स्वास्थ्य क्षेत्रप्रति गाउँपालिकाको प्रतिबद्धता र योगदानको कदर गर्ने परम्परालाई सुदृढ बनाएको छ, जसले सम्पूर्ण पालिकामा सकारात्मक सन्देश प्रवाह गरेको छ।