कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले एक वर्षमा इन्धन र गाडी मर्मतमा ८० लाख खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार बेलौरी नगरपालिकाले सो शीर्षकमा ८० लाख ३४ हजार ५ सय ६० रुपैयाँ खर्च गरेको छ ।
नगरपालिकाले इन्धन खर्च मापदण्ड भन्दा बढी खर्च गरेको पाइएको छ । अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिका, २०७७ मा सवारी साधन प्रयोग गर्ने व्यक्तिलाई सोही अनुसार विभिन्न परिमाणमा इन्धन उपलब्ध गर्न सकिने व्यवस्था छ । तर पालिकाले मापदण्ड भन्दा बढी १५ लाख ४३ हजार आठ सय ५० रुपैयाँ इन्धनमा खर्च गरेको छ ।
निर्देशिकाले तोकिएको मापदण्ड अनुसार ३६ लाख ३४ हजार ३ सय ९३ रुपैयाँ खर्च हुनु पर्नेमा स्थानीय तहको लेखा प्रणालीमा इन्धन खर्च ५१ लाख ७८ हजार २ सय ४३ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्तै सो नगरपालिकाले सवारी मर्मतमा २८ लाख ५६ हजार तीन सय १७ रुपैयाँ खर्च गरेको छ ।
मर्मत आदेश फारम, मर्मत सम्पन्न फाराम, मर्मत अभिलेख खाता तयार नगरी खर्च लेखेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले मर्मतलाई मितव्यापी बनाउन तोकिएको ढाँचामा अभिलेखाङ्कन गरी अद्यावधिक गर्न भनेको छ । यस्तै नगरपालिकाले खाना खाजा, सभा सञ्चालन र विविध शीर्षकमा ६ लाख ४१ हजार ७७ रुपैयाँ खर्च गरेको पाइएको छ।