नरेश राना / लालझाडी :- कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गर्भवती महिलाहरूलाई लक्षित गरी पोषण तथा सरसफाई सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । आइतबार आयोजित उक्त कार्यक्रममा आर्थिक वर्ष २०८१।०८२ मा विनियोजित बजेटबाट ३५ जना गर्भवती महिलालाई पोषणका लागि अण्डा वितरण गरिएको थियो ।
साथै सरसफाईमा सहयोग पुग्ने सामग्रीहरू साबुन, नङकटर पनि उपलब्ध गराइएको छ । कार्यक्रम अन्तर्गत आमा समूहका पदाधिकारीहरूलाई सल वितरण गरिएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई टेबुल पंखा प्रदान गरिएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष पहलबहादुर थापाले कार्यक्रमबारे जानकारी दिँदै यस प्रकारका अभिमुखिकरण तथा सहयोग कार्यक्रमहरूले गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।