सुदूरपश्चिममा शुक्रवार थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

२०८२ जेष्ठ २३, शुक्रबार २१:५५
सुदूरपश्चिममा शुक्रवार थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

लालझाडी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोभिड(१९ सङ्क्रमण पुष्टि भएको छ। भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्तिहरूमा सङ्क्रमण देखिएको हो।

शुक्रबार कैलालीको गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका ३० जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

योसँगै सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, सङ्क्रमितहरूको अवस्था सामान्य छ।

भारतमा नयाँ भेरियन्टका कारण कोभिड(१९ सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ। यही कारण भारतबाट नेपाल फर्किने नेपालीहरूमा सङ्क्रमणको जोखिम बढेको छ।

तर, कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि किट अभाव हुँदा सङ्क्रमण परीक्षण प्रभावित भएको छ। स्वास्थ्य अधिकारीहरूले किट अभावले सीमा नाकामा प्रभावकारी निगरानी गर्न कठिनाइ भएको बताएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयले सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाउन र सीमा नाकामा कडाइ गर्न सङ्घीय सरकारसँग थप किट र स्रोतसाधन उपलब्ध गराउन आग्रह गरेको छ।