नरेश राना / कञ्चनपुर कञ्चनपुरकी एक जनप्रतिनिधि कक्षा १ मा भर्ना भएकी छिन्। लालझाडी गाँउपालिका–४ पर्सिया की वडा सदस्य ५२ वर्षीया डल्लीदेवी चौधरी गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएकी हुन्। उनी नेकपा माओवादी केन्द्रबाट ०७४ र ०७९ मा वडा सदस्यमा निर्वाचित भएकी थिइन्।
आर्थिक अवस्था अत्यन्तै नाजुक भएपछि बाल्यकालमा अध्ययन गर्न नपाएकी डल्लीदेवीको किशोरी उमेरमै विवाह भएको थियो। उनी ०५२ सालमा विवाह बन्दनमा बाँधिएकी थिइन् । विवाहपछि घरगृहस्थीमा व्यस्त भएकाले पढ्ने रहर भएपनि पूरा नभएको उनले बताइन्।
‘म सानै हुँदा बुबा मालिकको घरमा हलिया थिए, आर्थिक अवस्था पनि कमजोर थियो। दैनिक हातमुख जोर्न समस्या थियो,’ उनले भनिन्, ‘मैले माईती घरमा पढ्नै पाइन, त्यसपछि विवाह नै भईहाल्यो, ०७४ को पहिलो निर्वाचनमा वडा सदस्य जितेँ नपढेकै कारण दोस्रोपटक पनि वडा सदस्य नै रोज्नुपर्ने भयाे।’ जनप्रतिनिधि भएपछि पढाईको महत्व थाहा भएपछि विद्यालय भर्ना भएको उनी बताउँछिन्।






