लालझाडी  — कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका भैंसी किसान हरिकिसन रानाको विभत्स हत्या प्रकरण संसदमा उठेको छ। कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद तारालामा तामाङले दोषीलाई कडा कारवाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

गत मंगलवार (बैशाख ९ गते) विहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै आगोमा जलेको अवस्थामा रानाको शव फेला परेको थियो।

प्रतिनिधिसभाको हिजो (बैशाख १४ गते) बसेको बैठकमा सांसद तामाङले रानाको हत्या घटनाले गम्भीर प्रश्न उठाएको भन्दै सरकारलाई सूक्ष्म अनुसन्धान गर्न र दोषीलाई कडा कारवाही गर्न आग्रह गरे। उनले निर्मला पन्त हत्या प्रकरण अझै छानबिनकै चरणमा रहँदा फेरि पनि यस्तो भयावह घटना घट्नु दुःखद रहेको बताए।

“निर्मला पन्तको न्याय अझै अपूर्ण छ,” सांसद लामाले भने, “त्यसैबीच अर्काे विभत्स हत्या हुनु राज्यप्रति गम्भीर चुनौती हो। दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ।”

घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने अनुसन्धान प्रक्रिया चाँडो टुंग्याउन भन्दै दबाबसमेत बढिरहेको छ।