
धनगढी, नेपाल रानाथारु युवा समाज, काठमाडौंले एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै, केही समययता नवराज रानाले आफूलाई संस्थापक अध्यक्ष भनी प्रस्तुत गरेको दाबीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।
हालसम्मको जानकारी अनुसार, २०८० सालमा नवराज रानाको अध्यक्षतामा गठन भएको तदर्थ समिति कुनै पनि सरकारी निकायमा दर्ता नगरिएको कारण त्यसको औपचारिक र वैधानिक हैसियत थिएन। तदर्थ समितिबाट राजीनामा दिएपछि नवराज रानाको संस्थासँग कुनै पनि औपचारिक सम्बन्ध नरहेको पनि स्पष्ट हुन्छ।

प्राप्त विवरणअनुसार, नवराज रानाले नेतृत्व गरेको प्रारम्भिक समिति बिचैमा टुटेको थियो। त्यसपछि कमल रानाको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन भई सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर नेपाल रानाथारु युवा समाज विधिवत रूपमा काठमाडौंमा दर्ता गरिएको थियो। हाल संस्थाको दर्ता नं. १५७ र पान नं. ६२२२७८८२१ रहेको सम्पूर्ण कागजातहरू सरकारी अभिलेखमा सुरक्षित छन्।
संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि नवराज राना हाल संस्थाको साधारण सदस्यसमेत होइनन्। त्यसैले संस्थाका गतिविधिमा आफूलाई संस्थापक अध्यक्ष भनी प्रस्तुत गर्नु सरासर अनाधिकृत कार्य हो। संस्थाले यस प्रकारको कार्यलाई संस्थाको नाम र प्रतिष्ठामाथि ठाडो हस्तक्षेप तथा कपटपूर्ण कार्य भनी निन्दा गरेको छ र यस्ता कार्य दोहोरिएमा कानूनी उपचारका लागि अगाडि बढ्ने चेतावनी दिएको छ।
यस सन्दर्भमा नेपाल रानाथारु युवा समाजले आम नागरिक र विशेषगरी रानाथारु समुदायलाई भ्रममा नपर्न आग्रह गर्दै स्पष्ट सूचना दिएको छ कि वैधानिक रुपमा दर्ता भई सञ्चालनमा रहेको संस्था कमल रानाको अध्यक्षतामा सञ्चालन भइरहेको छ र संस्थापक टोली भनेकै हालको दर्ता प्रक्रियामा संलग्न पदाधिकारीहरू हुन्।

संस्थाका पदाधिकारीहरूले भने, हामी संस्थाको पहिचान, मर्यादा र वैधानिक हैसियत जोगाउन दृढ छौं। अनधिकृत गतिविधि र झुटा दावीहरूविरुद्ध कानूनी र संस्थागत ढंगले प्रतिकार गरिनेछ।
सम्बन्धित पक्षलाई संस्थाको गरिमा कायम राख्न जिम्मेवार भएर अघि बढ्न आग्रह गर्दै संस्थाले निष्कर्ष निकालेको छ कि संस्थाको नाम दुरुपयोग गर्नेलाई अब सह्य छैन ।






