दिनेश राना/कैलाली, बैशाख १० । चुरे गाउँपालिका–४, गर्भा, कैलालीमा नव निर्मित गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको भव्य हस्तान्तरण तथा उद्घाटन समारोह आज सम्पन्न भएको छ ।

समारोहमा सभापतिको रूपमा चन्द्र बहादुर लामिछाने मगरले अध्यक्षता गर्नुभएको थियो । प्रमुख अतिथिको रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहनुभएको थियो भने विशिष्ठ अतिथिमा उपाध्यक्ष श्रीमती धना देवि थापा र आम्दा माइन्ड्सका कार्यक्रम संयोजक प्रदिप राज पन्त रहनुभएको थियो । सोही कार्यक्रममा फाया नेपालका कार्यकारी निर्देशक शेर बहादुर वस्नेत र चुरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

उक्त भवनको निर्माण जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग, आम्दा माईन्डसको नेतृत्व र फाया नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको हो । परियोजना मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रबद्र्धन अन्तर्गत सञ्चालनमा आएको हो, जुन चुरे गाउँपालिकाको समन्वयमा फाया नेपालद्वारा कार्यान्वयन गरिएको हो ।

भवन निर्माण कार्य २०८१ साल साउन १८ गते शुभारम्भ भई २०८२ साल बैशाख १० गते सम्पन्न भएको हो । कुल लागत एक करोड एघार लाख अठान्नब्बे हजार नौ सय उनान्नबे रुपैयाँ (रु. १,११,९८,९८९।–) रहेको उक्त भवन अब स्वास्थ्य सेवा प्रवाहका लागि स्थानीय तहमा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

यस नयाँ भवनको निर्माणसँगै गर्भा क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको गुणस्तरमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ । समारोहमा बोल्दै अतिथिहरूले मातृ तथा बाल स्वास्थ्यमा हुने सुधार र जनस्तरमा पर्ने सकारात्मक प्रभावबारे चर्चा गर्दै जापान सरकार, आम्दा माईन्डस, फाया नेपाल र चुरे गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।