नेपाल थारु संघ कञ्चनपुरको अधिवेशन सम्पन्न : पूर्वमन्त्री साउदले भने ‘देश निर्माणमा सबै एकजुट हुनुपर्छ

२०८२ बैशाख ५, शुक्रबार ०६:५९
नेपाल थारु संघ कञ्चनपुरको अधिवेशन सम्पन्न : पूर्वमन्त्री साउदले भने ‘देश निर्माणमा सबै एकजुट हुनुपर्छ

कृष्णपुर । नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला र क्षेत्रीय अधिवेशन भव्य समारोहका बिच सम्पन्न भएको छ । विहिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी साउदले देश निर्माणको अभियानमा सबै समुदाय,जाति र क्षेत्रका नागरिकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

 “देश बनाउने अभियान सामूहिक हो । थारु समुदायको योगदान इतिहासमा महत्त्वपूर्ण छ, अब यसको सम्मान गर्दै संरक्षण र प्रवद्र्धनमा हामी सबै लाग्नुपर्छ ।” उनले भने “थारु भाषा, संस्कृति, कला, पहिचान र परम्पराको संरक्षण गर्न संघले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।” उनले अगाडि भने “थारुहरूको मौलिकता राष्ट्रिय सम्पत्ति हो । यसलाई उजागर गर्न संघको सक्रिय भूमिका अत्यावश्यक छ ।  यस अभियान मा हामी सबैको सहयोग रहनेछ ।”

कार्यक्रममा संघका केन्द्रीय प्रतिनिधि,जिल्ला तहका पदाधिकारी, बुद्धिजीवी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनमा संगठनको आगामी कार्ययोजना, संरचना विस्तार तथा सदस्यता अभियानसम्बन्धी गहन छलफल भएको थियो। संघको तर्फबाट कार्यक्रमको सभाध्यक्षता नेपाल थारू संघ कञ्चनपुरका अध्यक्ष डा. फुलराम चौधरीले गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द शाह, क्षेत्रीय नेताहरू लगायत विशिष्ट अतिथिहरूको सहभागिता थियो। कार्यक्रममा थारू समुदायको सांस्कृतिक झल्किने  विविध प्रस्तुतीहरू, सम्मान पत्र वितरण, र परम्परासँग जोडिएका मन्तव्यहरू प्रस्तुत गरिएको थियो। थारू महिलाहरूले नेतृत्व तहमा अझ बढी सहभागिता सुनिश्चित गर्न माग राखे । 

अधिवेशनकै क्रममा कञ्चनपुर इसाई समाज, कृष्णपुर शाखाले भलमन्सा बरगरको तर्फबाट ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा इसाई समुदायको पर्व  (क्रिसमस, गुड फ्राइडे) का लागि विदा व्यवस्था, समाधिस्थलका लागि व्यवस्था, बजेटमा समानता, नगर सभाहलको प्रयोग सुविधा, र धार्मिक सहिष्णुता तथा सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको थियो।  कञ्चनपुर इसाई समाजका जिल्ला सचिव घनश्याम सोपले ज्ञापनपत्र बुझाउँदै समुदायका मागहरूप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।